अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ६, शुक्रबार ०८:०६

स्थानीय तह गठन भएको आठ वर्ष बितिसक्दा पनि पर्साका चार पालिका अझै भाडाकै घरमा कार्यालय सञ्चालनमा रहेका छन् । जिल्लामा रहेका १४ पालिकामध्ये एक नगरपालिका र तीन गाउँपालिका कार्यालय भाडाकै घरमा सञ्चालित छन् ।

चार नगरपालिका रहेको पर्सामा बहुदरमाई नगरपालिकाबाहेक सबै नगरपालिकाको आफ्नै भवन छ। बिन्दबासिनी, छिपहरमाई र जिराभवानी गाउँपालिका कार्यालय पनि भाडाकै घरमा सञ्चालन भइरहेका छन् ।

बहुदरमाई नगरपालिका र जिराभवानी गाउँपालिकाले मासिक एक–एक लाख तथा बिन्दबासिनी गाउँपालिका र छिपहरमाई गाउँपालिकाले मासिक ५०/५० हजार रुपैयाँ कार्यालय सञ्चालनबापत भाडा तिर्दै आएका छन् । यी चार पालिकाको कार्यालयको भाडामा मात्र वार्षिक ३६ लाख खर्च हुँदै आएको छ ।

बहुदरमाई र जिराभवानीले पालिका स्थापनादेखि हालसम्म घरभाडाका लागि ९६/९६ लाखभन्दा बढी खर्च गरेका छन् । बिन्दबासिनी र छिपहरमाईले हालसम्म ४८/४८ लाखभन्दा बढी घरभाडा तिरेका छन्। बिन्दबासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसियाका अनुसार पालिकाले आफ्नै भवन बनाउन जग्गा खोजिरहेको छ । जिराभवानी गाउँपालिका कार्यालयले तीनवटा ब्लक भाडामा लिएर मासिक एक लाख घर भाडा तिरिरहेको एक कर्मचारीले जानकारी दिए।

भवन निर्माणका लागि पटकपटक आवाज उठे पनि गाउँपालिका अध्यक्षसहितका केही जनप्रतिनिधिले चासो नलिएको उनको भनाइ छ । धेरै ब्लकबाट सञ्चालन हुँदा पालिकाका काम अस्तव्यस्त भएको स्थानीय मेघराज रायले जानकारी दिए । त्यस्तै पर्साका केही स्थानीय तहहरूले कार्यालय भवन निर्माण गर्न जग्गा खरिद गरेको भए पनि अहिलेसम्म भवन निर्माण गर्न सकेका छैनन् ।

पालिका भवन नहुँदा केही पालिका वडामा रहेको सामुदायिक भवन, विद्यालयको छात्रावासदेखि वडा कार्यालयको भवनमा कार्यालय सञ्चालन गरिरहेका छन् । पकाहामैनपुर गाउँपालिका कार्यालय दिव्या युवा क्लबले बनाएको सामुदायिक भवनमा सञ्चालित छ। उक्त सानो भवनमा केही नयाँ संरचना निर्माण गरेर पालिका भवन सञ्चालनमा ल्याएको स्थानीय राकेश यादवले बताए ।

त्यस्तै पटेर्वा सुगौली गाउँपालिकाको कार्यालय मन्दिरको नाममा रहेको भवनमा सञ्चालन हुँदै आएको स्थानीय प्रमोद यादवले बताए । गाउँपालिका कार्यालय भवन निर्माणको कार्य अन्तिम चरणमा रहेको उनले बताए । त्यस्तै कालिकामाई गाउँपालिका र धोबिनी गाउँपालिकाले वडा कार्यालयको भवनबाटै काम गर्दै आएका छन्।

स्थानीय सन्तोष पटेलका अनुसार धोबिनी गाउँपालिका कार्यालय वडा कार्यालयकै भवनमा सञ्चालनमा रहेको अवस्था छ। केही वर्ष पहिले पशु स्वास्थ्य केन्द्रको भवनमा सञ्चालन हुँदै आएको पालिका कार्यालय अहिले वडा नम्बर ४ लंगडीको भवनमा सञ्चालन हुन थालेको पटेलले बताए । संखुवा प्रसौनी गाउँपालिका कार्यालयले विद्यार्थीहरुका लागि बनाएको छात्रावासको भवनमा आफ्नो कार्यालय सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार