अहमदाबाद । मिचेल मार्सको शतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको छ । यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको गुजरातलाई हारले नराम्रोसँग धक्का लागेको छ ।
गुजरात १३ खेलमा १८ अंक जोड्दै शीर्षस्थानमा छ । टोलीले एक खेल खेल्न बाँकी छ । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र पन्जाब किंग्सले आफ्नो बाँकी रहेको दुवै खेल जितेमा शीर्षस्थानको गुजरातलाई उछिन्दै क्वालिफायरमा पुग्नेछन् । यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको लखनउ १३ खेलमा १२ अंक जोडेर सातौं स्थानमा यथावत छ ।
मार्सले १ सय १७ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा २ विकेट गुमाई २ सय ३५ रन बनाएको थियो । प्लेयर अफ द म्याच मार्सले ६४ बलमा १० चौका र ८ छक्का प्रहार गरे । अर्शद खानको बलमा आउट हुनुअघि मार्सले एडेन मारक्रमसँग पहिलो विकेटमा १० ओभरभित्र ९५ र निकोलस पुरनसँग दोस्रो विकेटमा १ सय २१ रन जोडेका थिए ।
साइ किशोरको बलमा आउट हुनुपूर्व मारक्रमले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । पुरन २७ बलमा ४ चौका र ५ छक्कासहित ५६ र कप्तान ऋषभ पन्त ६ बलमा २ छक्कासहित १६ रनमा अविजित रहे ।
सेरफन रदरफोर्ड र मसुद शाहरूख खानले ४० बलमा ८६ रन जोडे पनि जवाफमा आएको गुजरातले २० ओभरमा ९ विकेट गुमाई २ सय २ रनमात्र बनाउन सक्यो । रदरफोर्ड २२ बल खेल्दै १ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । शाहरूखले २९ बलमा ५ चौका र ३ छक्कासहित ५७ रन बनाए । साई सुदर्शन १६ बलमा २१, कप्तान शुवमन गिल २० बलमा ७ चौकासहित ३५ तथा जोस बटलर १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाएर आउट भए ।
लखनउका विल ओ’रोर्कले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । आयुष बदोनी र अभेष खानले २–२ विकेट लिए ।





