धनुषाको गणेशमान चारनाथ नगरपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरुले काठमाण्डुको सडक आन्दोलन स्थलमै दैनिक हाजिरी गर्ने भएका छन् ।
पालिकाभरका उपलब्ध प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुको बुधवार बसेको संयुक्त बैठकले शैक्षिक आमहडताल घोषणा भई काठमाण्डुमा जारी आन्दोलनमा अनिवार्य रुपमा सम्पूर्ण शिक्षक÷कर्मचारी सहभागी हुने र आन्दोलन स्थलमै हाजिरी समेत गर्ने निर्णय गरिएको शिक्षक जितेन्द्र प्रसाद सिंहले जनाए ।
आगामी अधिवेशनमा सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको हित हुने खालका संघीय शिक्षा ऐनले सम्मानजनक प्रवेश पाउनेमा ठोस आधार नभएसम्म आन्दोलन नरोकिने र आफूहरु समेत टसमस नहुने शिक्षक तथा कर्मचारीहरुले चेतावनी दिँदै आएका छन् । तराई मधेशबाट लाखौं संख्यामा शिक्षक तथा कर्मचारीहरुले काठमाण्डौ आन्दोलनमा सहभागी रहेको जनाउँदै जनता जायसवाल मा.वि.,गोदारका शिक्षक प्रमोद कुमार यादवले आन्दोलनमा सहभागी हुन छुटेका तथा नयाँ वर्ष मनाउन घर फर्केका शिक्षक तथा कर्मचारीहरु नयाँ वर्षको सतुवाइन् एवं जुडशितल पर्वमा अग्रजहरुबाट प्राप्त आशिर्वाद सहित उमङ्गका साथ पुनः आन्दोलनमा सहभागी हुन दैनिक सयौँ शिक्षक तथा कर्मचारीहरु काठमाण्डौ जाने क्रम बढेको उल्लेख गरे ।
सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको अधिकारका साथै सम्पूर्ण शैक्षिक सुधारका लागि आन्दोलन भैरहेको उनको भनाई थियो। शिक्षा ऐन २०२८ खारिज गरी नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरूले काठमाण्डौमा प्रदर्शन गरिरहेका छन् । चैत्र २० गतेदेखि आन्दोलनलाई निरन्तरता दिएका शिक्षकहरुले २५ गतेबाट शैक्षिक आम हडतालको घोषणा समेत गरेका हुन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरूलाई काठमाण्डौमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ ।
विद्यालयमा हडताल गरेर शिक्षक कर्मचारीहरूले आन्दोलन गर्दा सरकारी विद्यालयहरूमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षणलगायतका सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित भएको छ ।





