जनकपुरधाम । गत चैत १५ गते काठमाडौंस्थित तीनकुनेमा भएको प्रदर्शनको क्रममा संचारकर्मीको हत्यापछि नेपाल पत्रकार महासंघ धनुषाले घटनालाई प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयासको संज्ञा दिदै सरकार समक्ष विभिन्न ५ बुँदे माग राखेको छ ।
महासंघले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको हो । महासंघले मृतक पत्रकार सुरेश रजकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, उनका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, घाइते पत्रकारहरूको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने, तोडफोड र आगजनीमा परेका सञ्चारगृहहरूको क्षतिपूर्ति सरकारले दिनुपर्ने र प्रेस स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न कडा कानुनी कारबाही गर्नुपर्ने माग अघि सारेको छ ।
महासंघले सरकारलाई एक साताभित्र ती मागहरू पूरा गर्न चेतावनी दिएको छ । अन्यथा देशभरका पत्रकारहरू सडक आन्दोलनमा उत्रने महासंघको भनाइ छ । घटनामा पत्रकार दिनेश गौतममाथि शारीरिक आक्रमण हुँदा उनको खुट्टा भाँचिएको छ । फोटो पत्रकार निरज तामाङको क्यामेरा हराएको थियो ।
घटनालाई लिएर महासंघले सरकारको नीतिगत असफलताप्रति असन्तोष व्यक्त गरेको छ । महासंघका पदाधिकारीहरूका अनुसार सरकारले पत्रकारहरूको सुरक्षालाई प्राथमिकतामा नराख्दा यस्ता हिंसात्मक गतिविधिहरू दोहोरिरहेका छन् ।
तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र पत्रकारहरूलाई विशेष रूपमा लक्षित गरिएको थियो । भिडियो कभर गर्ने क्रममा पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको थियो ।






