जनकपुरधाम । होली दिन चक्कु प्रहार गरी हत्या गरिएको घटनामा संलग्नहरुलाई अझैसम्म पक्राउ नगरिएको भन्दै बिन्धीका स्थानीयले जनकपुरधाम जलेश्वर सडकखण्डमा चक्काजाम गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीमा मृतकका परिवारका साथै स्थानीयले चक्काजाम गर्दै प्रदर्शन गरिरहेका छन् । गत चैत २ गते होली खेल्दा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले १५ वर्षीय आशुलाई घरबाट बोलाएर चक्कु प्रहार गरी बिभत्स हत्या गरेका थिए ।
घटनालगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । तर, उनलाई चक्कु दिने स्थानीय राकेश महतोलगायत आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार छन् । घटनाको दुई साता पुग्दासमेत उनीहरूलाई पक्राउ गर्न नसकेको भन्दै आशुकी आमा अर्चनासहित स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा आशुकी आमा अर्चना आफ्नो दुई छोरीलाई काँखमा च्यापेर प्रदर्शन गरिरहेकी छन् ।
६ महिनाअघि अर्चनाका श्रीमान् पप्पुको मृत्यु भएको थियो । उनका एक्ला छोरा गुमेपछि अर्चना सहाराविहीन बनेकी छन् ।





