काठमाडौं । एसईई परीक्षामा पर्खाल नाघ्दै चिट चोराएको फोटो भिडियो त पहिले देखि नै हेर्दै आएको विषय हो । तर अब आएर प्रविधिको दुरुपयोग गरेर डिजिटल माध्यमबाट समेत चिट चोर्ने/चोराउने गरेको देखिएको छ ।
यसै क्रममा ह्वाट्सएप ग्रुपमार्फत् चिट चोराउने दुई जना निरीक्षकलाई बारा प्रशासनले आज बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रुपमा खटिएका सौरभ छन् । उनीहरुले गल्ती स्वीकार गरेको र हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।
एसईई परीक्षाको अनुगमनका लागि हिजो जस्तै आज बिहान पनि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी परीक्षा सेन्टरहरुमा पुगेका थिए ।
कलैयाको पन्नादेवी कन्या मावि सेन्टरमा ह्वाट्सएपमार्फत् चिट चोर्ने÷चोराउने गरेको सूचना पाएपछि निगरानी बढाइएको थियो । त्यहीक्रममा निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड शौरभ रंगेहात पक्राउ परे ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले भने, ‘उनीहरुले आफ्नो मोबाइलमा ‘साथी’ नामको ह्वाट्सएप ग्रुप बनाएका रहेछन् । निरीक्षकले प्रश्नपत्रको फोटो खिचेर त्यही ग्रुपमा राखिदिने र उत्तर प्राप्त भएपछि परीक्षार्थीलाई सार्न दिने गर्दारहेछन् ।’
आज ह्वाट्सएपमा प्रश्नको उत्तर आएको तर परीक्षार्थीसम्म पुग्न नपाउँदै मोबाइलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए ।





