स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सर्लाही बहुमुखी क्याम्पसमा सुजितकुमार यादव नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ। बुधबार सम्पन्न मतगणनामा सुजितकुमार यादव नेतृत्वको संयुक्त गठबन्धनको प्यानलनै विजयी भएको हो ।
नेसवियु र जनमतसँग स्वतन्त्र ढंगले गठबन्धन गरी यादवले सभापतिको उम्मेदवारी दिएका थिए । यादवले ६२४ मत प्राप्त गरेका निर्वाचन कमिटीले जनाएको हो। उनको प्रतिस्पर्धी अनेरास्ववियु, राष्ट्रिय विद्यार्थी मञ्च गठबन्धनका उम्मेदवार कृष्ण यादवले ३०९ र नेविसंघ र समाजवादी विद्यार्थी युनियनको संयुक्त गठबन्धनका उम्मेदवार धीरज दाहा यादवले १७९ मत मात्र प्राप्त गरे ।
अन्य पदमा समेत यादव नेतृत्वकै गठबन्धनकै जित भएको छ । सचिवमा ६ सय मतसहित रोशनकुमार यादव, कोषाध्यक्षमा ५८० मतसहित नितुकुमारी र सदस्यहरूमा ५६१ मतसहित संरचना यादव, ५४६ मतसहित प्रेमप्रवीण यादव, ५७५ मतसहित अर्जुनकुमार राय विजयी भएका हुन । यस क्याम्पसमा ४२.०८ प्रतिशत मात्र मत खसेको थियो ।
एक हजार ३६७ मत खसेकोमा १६४ मत बदर भएको निर्वाचन अधिकृत कृपानाथ झाले जानकारी दिए । समयमै मतदान सम्पन्न गरेको यस क्याम्सपमा मतगणनाको क्रममा साँझ केहीबेर विवाद भएपछि मध्यरातिबाट मतगणना सुरु भएको थियो । दोहोर्याएर मतगणना गर्नुपरेकोले ढिला भएको निर्वाचन अधिकृत झाले बताए।
यस्तै, समानुपातिकतर्फ पनि नेसवियु, जनमत, सुजितकुमार यादव गठबन्धनले सबैभन्दा धेरै ७२२ मत प्राप्त गरेको छ भने अनेरास्ववियु, राष्ट्रिय विद्यार्थी मञ्च गठवन्धनले ४२६ र नेविसंघ र समाजवादी विद्यार्थी युनियनको संयुक्त गठबन्धनले २०३ मत मात्र प्राप्त गरेको छ । नेपाल विद्यार्थी (नेविसंघ)मा आबद्ध सुजितकुमार यादवले अन्तिम समयमा टिकट नपाएपछि स्वतन्त्र ढंगले नेसवियु, जनमतसँग गठबन्धन गरी सभापतिमा उम्मेदवारी दिएका थिए ।





