जनकपुरधाम । चैत ७ गतेबाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित बनाउने निर्णय गरिएको छ ।
प्रदेश परीक्षा समन्वय तथा व्यवस्थापन समिति मधेश प्रदेशको आयोजनामा सोमबार जनकपुरधाममा बसेको बैठकले एसईई परीक्षालाई पूर्ण रुपमा मर्यादित बनाउने र परीक्षा सञ्चालनका लागि संघ सरकारले जारी गरेको निर्देशिकालाई पूर्ण रुपमा कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह सहभागी सो बैठकबाट एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि बनेको निर्देशिकालाई पूर्ण रुपमा कार्यान्वयन गर्दै कसैले परीक्षा केन्द्रमा अमर्यादित क्रियाकलाप गरेको पाइए तत्काल कारबाही गर्ने निर्णय भएको हो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एसईई परीक्षालाई मर्यादित बनाउन परीक्षासँग सरोकार भएका सबै निकाय तथा प्रदेशवासीमा आग्रह गरेका छन् । मर्यादित परीक्षाले प्रदेशमा पढ्ने तथा पढाउने वातावरणको निर्माण हुने मुख्यमन्त्रीले बताए । कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको पनि सहभागिता रहेको थियो ।
मधेश प्रदेशबाट यस वर्ष ८८ हजार ८ सय ५८ जना विद्यार्थीहरू सहभागी हुँदै छन् ।





