नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् ।
आफू देशका ठूला हस्ती राजा वीरेन्द्र देखि ज्ञानेन्द्र, गणेशमान देखि कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिए ।गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदीमा नवनिर्मित झोलुङ्गे पुलको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले यस्तो बताएका छन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले आफूहरुको आफनै स्वाभिमान, पहिचान, मूल्यमान्याता र महत्व रहेकोले हल्कामा नलिन सुझाव दिए । वर्तमान चार दलिय सत्तागठबन्धनलाई लक्षित गर्दै उनले भने–‘हामी कसैको दास होइनौ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौ, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठूलो मूल्य चुकाउनुपर्छ, ।’ नेता नेपालले भने–‘हाम्रो आफनै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझयो भने ठिक छ नत्र सबै उलटिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’ नेकपा एसले सात प्रदेश मध्ये एउटा सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले भने, ‘त्याँहा आफ्ना पार्टीका चार जना प्रदेश सांसद छन् र ती चारै जना सरकार निर्माणका लागि निर्णायक छन्, हाम्रा प्रदेश सांसदहरु जता जान्छन उतै सरकार बन्छ, अनि सरकार छाडयो भने ढल्छ ।’यता, सुदूरपश्चिममा माधवकुमार नेपालले सत्ता समीकरण फेरबदल गरेपछि बिहीबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको थियो भेटवार्तामा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा गरिएको बताइए पनि माधवकुमार नेपालको पछिल्लो राजनीतिक परिवर्तनकै बारेमा बैठक केन्द्रित रहेको थियो ।
उनले प्रदेशमा सत्तासमीकरण फरक भए पनि तत्कालै केन्द्रमा कुनै समस्या नरहेको दाबी गरिएको थियो । तर, अध्यक्ष नेपालले शुक्रबार दिएको अभिव्यक्तिले केन्द्रीय राजनीतिमा समेत आफ्नो पकड बलियो रहेको र सत्तासमीकरण फेरबदल हुन सक्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
अध्यक्ष नेपालले रौतहटमा विगतमा आफूले शिलान्यास गरेका सबै योजनाहरुको काम चाडै द्रुत गतिमा अगाडि बढ्ने विश्वास दिलाए । आफू प्रधानमन्त्री भएको बेला रौतहटमा ठूलठूला विकास निर्माणका कामहरु गरेको चर्चा गर्दै नेता नेपालले आफूले शिलान्यास गरी अधुरो रहेका बडहर्वा पुल, टिकुलियाघाटको पुल देखि लिएर अलपत्र अवस्थामा रहेको सबै योजनाका कामहरु चाडै अगाडि बढाउने प्रक्रियामा लागि परेको बताए । ४२ किलोमिटरको गौर–चन्द्रनिगाहपुर सडकखण्डलाई चारलेनको बनाउने योजना आफूले नै ल्याएको र अहिले उक्त सडकलाई चारलेन बनाउने काम द्रुत गतिमा अगाडि बढेको उनले बताए ।





