सुर्खेत । यामलाल कँडेल मुख्यमन्त्री भएको ११ दिन पुग्दा पनि कर्णाली सरकारले पूर्णता पाउन सकेको छैन । बजेट निर्माण, नीति तथा कार्यक्रम बनाउने समय सुरु भइसक्दा पनि मुख्यमन्त्री बाहेक अरु सबै मन्त्रालय खाली छन् ।मुख्यमन्त्री कँडेलले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका कारण सरकार विस्तार गर्न नसकिएको बताइरहेका छन् । बुधबार पत्रकारको एक टोलीसँग मुख्यमन्त्री कँडेलले माओवादीकै कारण सरकारलाई पूर्णता दिन ढिला भइरहेको बताए ।दुई दलबिच मन्त्रालय भागबण्डाको विषयमा विवाद हुँदा गठबन्धन दलहरूबिचमा समस्या आएको देखिन्छ । मुख्यमन्त्री पद छाड्नुपर्ने भएपछि सुरुमा माओवादीले सभामुख र चार मन्त्रालय माग गरेको थियो । तर, सभामुखको विषय अलि पेचिलो बन्ने भएपछि माओवादी केन्द्र त्यसमा लचक बने पनि मन्त्रालयमै दुई दलबिच कुरा मिल्न सकेको छैन ।विशेषगरी मुख्यमन्त्री कँडेलले सामाजिक विकास मन्त्रालय आफैँसँग राख्न चाहेपछि भागबण्डाको विषय पेचिलो बनेको हो । पूर्वमुख्यमन्त्री समेत रहेका माओवादी संसदीय दलका नेता राजकुमार शर्माले सरकार विस्तारको कार्य माओवादीले नभइ स्वयं मुख्यमन्त्रीकै कारण रोकिएको आरोप लगाए ।





