प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाएर ‘बोर्ड अफ ट्रस्टी’ मार्फत प्राज्ञिक व्यक्ति उपकुलपति छनोट गरिनुपर्ने माग बढ्दो छ, तर सरकार फेरि पनि भागबन्डामा पार्टी कार्यकर्तालाई उपकुलपति नियुक्त गर्ने सुरसारमा छ ।
१० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपतिविहीन बनेको तीन दिनपछि १९ कात्तिकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन महीनाको लागि शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी तोकेको छ । त्यसको भोलिपल्ट उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सर्च कमिटी गठन भएको छ ।
सर्च कमिटीले सिफारिस गरेको उम्मेदवारलाई कुलपति (प्रधानमन्त्री) ले नियुक्त गर्ने व्यवस्था छ । तर सर्च कमिटीले हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन । मन्त्रालय स्रोतका अनुसार, कुलपति उपकुलपति नियुक्तिलाई केही समय ‘होल्ड’ गर्न चाहन्छन् ।९ मंसिरमा सेवा आयोग सदस्य पद रिक्त भएको छ भने आगामी ९ पुसमा रजिष्ट्रार र ६ चैतमा शिक्षाध्यक्ष पद रिक्त हुँदैछ । सबै पदमा राजनीतिक भागबन्डाको आधारमा सहमति जुटाएर एकसाथ नियुक्त गर्ने प्रधानमन्त्रीको चाहना छ । त्यसैले त्रिविले नयाँ उपकुलपति पाउन अझै केही समय कुर्नैपर्ने देखिन्छ ।





