युवा संघ र दुर्गा प्रसाईंलाई बेग्लाबेग्लै दिनमा कार्यक्रम गराउने प्रयास असफल भएपछि गृह प्रशासनले निषेधाज्ञा जारी गरेर अप्रिय घटना हुन नदिने नीति अख्तियार गरेको छ । उपत्यका प्रवेश गर्ने नाकामा कडाइसँगै सेनासमेतको उपस्थितिमा संयुक्त कमाण्ड सेन्टर समेत खडा गरिएको छ

६ मंसिर, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बिहीबार (७ मंसिर) का लागि एकैदिन शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
सुरुमा दुवै पक्षले माइतीघर मण्डलामा कार्यक्रम गर्ने बताए पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुवैलाई त्यहाँ कार्यक्रम गर्न अनुमति दिएन । सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै दुवै पक्षलाई बेग्लाबेग्लै स्थानमा कार्यक्रम गर्न भनिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउँछन् ।
विभिन्न चरणमा भएको छलफलमा बस्नेतले माइतीघर मण्डला मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रमका लागि स्वीकृति नदिइने बताएका थिए । बरु उनीहरुलाई तिनकुने, माछापोखरी, नारायण चौर, कलंकी, बसपार्क लगायतका क्षेत्रमध्ये एउटा रोज्न यसपछि युवा संघले कार्यक्रमका लागि तीनकुने रोजेको थियो भने दुर्गा प्रसाईं नेतृत्वको समूहले बल्खु रोजेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले दुवै पक्षले पहिले घोषणा गरेको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरेका छन् ?
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी युवा संघ र प्रसाईं नेतृत्वको समूहले जसरी सार्वजनिक रुपमा एकअर्काप्रति लक्षित गर्दै अभिव्यक्ति दिइरहेका छन्, त्यसले हेर्दा अप्रिय घटना नहोस् भनेर प्रशासनले माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाएको देखिएको बताउँछन् । ‘विगतमा समयमा हस्तक्षेप नगर्दा अप्रिय घटना भएका उदाहरणहरु छन्, त्यसैले प्रशासनले पूर्वतयारी गरेको देखिन्छ’, उनी भन्छन्
यद्यपि, मंगलबार काठमाडौं प्रशासनले बालुवाटार र शितलनिवास वरपर र ललितपुर प्रशासनले मन्त्री निवास पुल्चोक क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ । यसरी निषेधित क्षेत्र घोषित स्थानमा ५ जनाभन्दा बढी मानिसहरु उपस्थित हुन पाउने छैनन् ।
विवादास्पद मेडिकल व्यवसायी प्रसाईं कुनै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै निकट थिए । द्वन्द्वका बेला माओवादीलाई सेल्टर दिएको बताउँदै उनी प्रचण्डसँग नजिकिएका थिए ।
२०७३ सालमा प्रधानमन्त्री भएका बेला दाहालले प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन जोडबल समेत गरेका थिए । तर, डा. गोविन्द केसीको अनशन र विरोधका बीच बीएण्डसीले सम्बन्धन पाउन सकेन ।
गृह मन्त्रालयमा भएको सुरक्षा अधिकृतहरुको बैठकमा एमालेलाई कार्यक्रम रोक्न लगाउनुपर्ने माग उठेको थियो । उपप्रधान एवं गृहमन्त्री नाराणकाजी श्रेष्ठ पनि गएको शुक्रबार अपराह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए ।





