युवा संघ र दुर्गा प्रसाईंलाई बेग्लाबेग्लै दिनमा कार्यक्रम गराउने प्रयास असफल भएपछि गृह प्रशासनले निषेधाज्ञा जारी गरेर अप्रिय घटना हुन नदिने नीति अख्तियार गरेको छ । उपत्यका प्रवेश गर्ने नाकामा कडाइसँगै सेनासमेतको उपस्थितिमा संयुक्त कमाण्ड सेन्टर समेत खडा गरिएको छ ।

६ मंसिर, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बिहीबार (७ मंसिर) का लागि एकैदिन शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
सुरुमा दुवै पक्षले माइतीघर मण्डलामा कार्यक्रम गर्ने बताए पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुवैलाई त्यहाँ कार्यक्रम गर्न अनुमति दिएन । सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै दुवै पक्षलाई बेग्लाबेग्लै स्थानमा कार्यक्रम गर्न भनिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउँछन् ।विभिन्न चरणमा भएको छलफलमा बस्नेतले माइतीघर मण्डला मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रमका लागि स्वीकृति नदिइने बताएका थिए । बरु उनीहरुलाई तिनकुने, माछापोखरी, नारायण चौर, कलंकी, बसपार्क लगायतका क्षेत्रमध्ये एउटा रोज्न भनिएको थियो ।
यसपछि युवा संघले कार्यक्रमका लागि तीनकुने रोजेको थियो भने दुर्गा प्रसाईं नेतृत्वको समूहले बल्खु रोजेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले दुवै पक्षले पहिले घोषणा गरेको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरेका छन् ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी युवा संघ र प्रसाईं नेतृत्वको समूहले जसरी सार्वजनिक रुपमा एकअर्काप्रति लक्षित गर्दै अभिव्यक्ति दिइरहेका छन्, त्यसले हेर्दा अप्रिय घटना नहोस् भनेर प्रशासनले माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाएको देखिएको बताउँछन् । ‘विगतमा समयमा हस्तक्षेप नगर्दा अप्रिय घटना भएका उदाहरणहरु छन्, त्यसैले प्रशासनले पूर्वतयारी गरेको देखिन्छ’, उनी भन्छन् ।





