६ मंसिर, काठमाडौं । आगामी १४ मंसिरदेखि तीन साता चल्ने झुलाघाट–चिवाभञ्ज्याङ ‘क्याराभान’ लाई मुख्य एजेण्डा बनाएर बुधबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सडक विद्रोहमा उत्रने संकेत दिएका छन् ।
एकैदिन सकिने गरी बसेको बैठक उद्घाटन गर्दै ओलीले वर्तमान सरकारप्रति जनतामा असन्तुष्टि र निराशा रहेको निष्कर्ष सुनाएका थिए । जनतामा देखिएको सरकारप्रतिको असन्तुष्टिलाई प्रतिगामी शक्तिहरुले व्यवस्था बदल्न उपयोग गर्ने खतरा देखिएकाले प्रतिवाद गर्न सडक विद्रोहमा जाने अध्यक्ष ओलीले प्रष्टोक्ति दिएका छन् ।
‘जनतालाई मैदानमा उतार्छौं र देशलाई एउटा बाटो दिन्छौं । देशलाई निकास दिने बाटो समातेनौं भने अर्को आउँछ’ केन्द्रीय सदस्यहरुसँग ओलीले भने, ‘मलाई एउटा साथीले भन्यो– कसैले खल्तीबाट परेवा निकालेर उडाउन सक्छ है ।’यसअघि गएको २२ कात्तिकमै एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित क्याराभानमा निस्कने निर्णय गरेको थियो । तीन साता चल्ने उक्त क्याराभान एमालेको पूर्वनिर्धारित एकवर्षे अभियान अन्तर्गत हो, जसलाई एमाले नेताहरुले आगामी चुनावमा पहिलो शक्ति बन्ने तयारी भनेका थिए ।तर ओलीले यो क्याराभानलाई आगामी चुनावको तयारीमा मात्रै सीमित नपार्ने सन्देश दिए । ‘..देशलाई पछाडि फर्कन दिंदैनौं । प्रतिगमनतिर जाने निकम्मापन स्वीकार्य हुन सक्दैन’, ओलीले भने । शान्तिपूर्ण तरिकाले जनताको हस्तक्षेप बढाउनेबारे नेताहरुसँग छलफल गरिरहेको पनि ओलीले बताएका थिए, ‘…जनशक्तिको परिचालन, जनबलको प्रयोग गर्न सक्ने हुनसक्छ ।’






