
सर्लाही,असाढ २७
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीको आयोजनामा वार्षिक समिक्षा गोष्ठी जिल्लाको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।जिल्लाको २० वटै स्थानीय तहका पशु सेवा शाखा प्रमुखहरुको नियमित मासिक बैठकको क्रममा बुधबार मलंगवा स्थित विज्ञ केन्द्रमा समिक्षा गोष्ठी सम्पन्न भएको हो ।
समिक्षा गोष्ठीमा जिल्लाका २० वटै स्थानीय तह अन्तर्गतका पशु सेवा शाखा प्रमुखहरूले गत आर्थिक वर्षमा सम्बन्धित शाखाबाट संचालन भएका क्रियाकलाप तथा कार्यक्रमहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै पशु सेवा शाखाहरुले प्रस्तुत गरेको संस्थागत रिपोर्ट राम्रो भएको र अझै थप प्रभावकारी काम गरेर अगाडी बढ्नु पर्ने देखिएको बताए।
सोही अवसरमा विज्ञ केन्द्र सर्लाहीले प्रमुख अतिथि प्रजिअ यादव मार्फत जिल्लाका २० वटै स्थानीय तह अन्तर्गतका पशु सेवा शाखाहरु मध्येबाट वर्ष भरीको काम र शाखा प्रमुखहरुको प्रस्तुतीकरणको आधारमा मुल्यांकन समितिको निर्णयअनुसार उत्कृष्ट ठहरिएका बरहथवा,लालबन्दी ,ब्रम्हपुरी र मलंगवा शाखालाई कदर पत्र प्रदान गर्दै सम्मानित गरिएको कार्यक्रमका संचालक श्यम सुन्दर यादवले जानकारी दिए।
विज्ञ केन्द्र मलंगवाका प्रमुख एवं बरिस्ठ पशु विकास अधिकृत शंकर साहको अध्यक्षतामा सम्पन्न भएको समिक्षा गोष्ठीमा मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनकपुरधामका पशु विकास अधिकृत उपेन्द्र कुमार सिंह ,विज्ञ केन्द्र मलंगवाका पशु विकास अधिकृत डा.जय प्रकाश यादव लगायत सबै स्थानीय तहका पशु स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।





