सर्लाही,असाढ १९
सर्लाहीको कौडेना गाँउपालिकामा १५ शैयाको सामुदायिक अस्पताल संञ्चालनमा आएको छ । कौडेना गाउँपालिका वडा न-२ स्थित फुलपरासी गाउँमा नवनिर्मित उक्त सामुदायिक अस्पतालको मंगलबार एक कार्यक्रमका बिच संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत र खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र राय यादवले संयुक्तरूपमा गरेका हुन्।
अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ मन्त्री बस्नेतले हरेक अस्पताल तथा मेडिकल कलेजमा गरिबहरुको निशुल्क उपचारका लागि १० प्रतिशत उपचार सहितको बेड हुनु पर्ने सम्झौता गरेर स्वीकृति दिएको भएपनि आजसम्म कार्यान्वयन नभएको उहाँले बताउनुभयो । उहाँले आफु स्वास्थ्य मन्त्री भएर आएपछि त्यस्ता अस्पताल र मेडिकल कलेजहरुको अनुगमन गर्दा सम्झौता अनुसारको सेवा सुविधा दिएको नपाएपछि तत्कालै वडाको सिफारिसमा गरिब तथा विपन्नहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाई निर्णय गरेको बताउनुभयो । उक्त निर्णय पछि अहिले आर्थिक रुपमा कमजोर भएका हजारौं बिरामीहरुले सेवा लिइरहेको मन्त्री बस्नेतले दाबी गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाइ मन्त्री यादवले काँग्रेस र एमालेलाई अंकित गर्दै देशमा सुशासन र संघीय लोकतन्त्रको स्थायित्वका लागि गठन भएको गठबन्धनको सरकार ५ वर्ष सम्म चल्ने दाबी गर्नुभयो।गठबन्धनको सरकार बाहेक अरु कुनै विकल्प समेत नरहेको बताउनुभयो ।
कुल १ करोड ७९ लाख रुपैयाँको लागतमा उपभोक्ता समिति मार्फत निर्माण भएको उक्त सामुदायिक अस्पताल भवनको गत २०७९ साल श्रावन २३ गते नेपाली कांग्रेसकी सह-महामंत्री डिना उपाध्याय र गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले संयुक्तरूपमा शिलान्यास गरेका थिए।





