सर्लाही,असाढ १२
सर्लाहीको हरिपुरमा स्थानीय समाज विकास केन्द्र नामक एक गैरसरकारी संस्थाले हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलभमेन्ट सँगको सहकार्यमा बुवा गुमाएका ८६ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षणसँगै अतिआवश्यक सामाग्री सहित ६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ।
हरिपुर नगरपालिका वडा न-१ मा रहेको उक्त संस्थाले हेल्पिङ्ग ह्यान्ड द्वारा संचालित हेल्थ स्क्रिनिङ्ग प्रोग्राम २०२३ तथा अरफन सपोर्ट प्रोग्राम अन्तर्गत सोमबार हरिपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गरि हरिपुर लगायत आसपासका ८६ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षणको साथसाथै उनीहरूको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले शैक्षिक सामाग्री,विद्यालय पोसाक,खाद्यान्न,हाइजेनिक कीट र प्रति विद्यार्थी ६ हजार रुपैयाँको चेक प्रदान गरेको छ।२३ जना बालिकाहरुलाई चार-चार वटा प्याकेटको दरले सेनेटरी प्याड पनि वितरण गरिएको स्थानीय समाज विकास केन्द्रका सल्लाहकार अर्जुन थापाले जानकारी दिएको छ।
ग्रामीण क्षेत्रका अधिकांश अनाथ बालबालिकाहरु आर्थिक अभावका कारण बिचमै पढाइ छाडेर बाल मजदुरीमा लाग्ने गरेका छन्।काँपी किताब बोकेर विद्यालय जानुपर्ने उमेरमा घरपरिवार चलाउने जिम्मेवारी उनीहरूकै काँधमा आउँछ।जसले गर्दा उनीहरूको जीवन अन्धकारमा विलिन भएर जान्छ।यस्तो अवस्थाआउन नदिइ उनीहरूको उज्वल भविष्यको लागि विगत केही वर्षदेखि हेल्पिङ ह्यान्डले अरफन सपोर्ट प्रोग्राम चलाएर सहयोग गर्दै आएको विकास केन्द्रका सल्लाहकार थापाले जनाएको छ।






