अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १०, मंगलवार ०९:१७

मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व र तीज पर्व पनि एकैदिन मनाइने भएको छ । मिथिलाञ्चलको प्रसिद्ध पर्व चौरचन पर्व र तीज पर्व पनि यसवर्ष एकै दिन पर्दा मंगलबार धुमधामसाथ मनाइँदैछ । हरेक वर्ष भदौँ शुक्लपक्ष चतुर्थीका दिन चौरचन पर्व मनाइने गरिन्छ । यस क्षेत्रमा छठ पर्व पछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ ।

यस पर्वका दिन महिला दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्वीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको छ ।



 

यस पर्वमा खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ ।

दिनभरि निराहार व्रत वा उपासना बसेका महिलाले साँझपख चन्द्रमा उदय हुनु अगाडि दिनमा बनाइएका पूजा र अन्य सामग्री आँगनमा अरिपन बनाई माटोका भाँडामा सजाएर राख्दछन् । चन्द्रमा उदय भएपछि बर्तालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्ने र त्यसपछि परिवारका अन्य सदस्यले पनि त्यसैगरी दर्शन गर्ने प्रचलन छ ।

प्रसादका रूपमा बर्तालुहरूका घर–घरमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर बनाउने चलन छ । चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा चलिआएको छ ।

चौरचन पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिकालगायतका विभिन्न पालिकाले विदा दिएको छ । त्यस्तै हिन्दू नारीहरूको चाड तीज सोमबारदेखि दर खाएर औपचारिक रूपमा शुरु भएको छ । सो दिन चेलीबेटीलाई माइतीले बोलाई मिठा–मसिनो परिकार खुवाउने परम्परा छ । खिर, ढकनी, गुँदपाकजस्ता पौष्टिक परिकार दरमा प्रमुख रूपमा समावेश हुन्छन् ।

दर खाएको भोलिपल्ट महिलाहरूले निराहार व्रत बसी भगवान् शिवको पूजा गर्ने चलन छ । मंगलबार तीजको मुख्य दिन, बुधबार गणेश चौथी र बिहीबार सप्तऋषि पूजापछि चारदिने पर्वको समापन हुनेछ । पार्वतीले शिवलाई पति पाउन व्रत बसेको धार्मिक विश्वासले विवाहित महिलाहरू पतिको दीर्घायूको कामना गर्दै, अविवाहित महिलाहरू सुयोग्य वर पाउने अपेक्षासहित तीज मनाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार