अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
यसअघि संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक रिक्तताको अवस्थामा संवैधानिक संकट उत्पन्न हुन सक्ने देखेर राष्ट्रपतिले संविधानका संरक्षक र पालनकर्ताका हैसियतमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतमा राम्रो छवि र निर्णय लिन नडराउने न्यायाधीशका रूपमा चिनिन्छिन् । उनले २०७३ असार २७ देखि २०७४ जेठ २४ गतेसम्म प्रधानन्यायाधीशको पद सम्हालेकी थिइन् । उनलाई २०६५ सालमा वकिल तर्फबाट अस्थायी न्यायाधीशका रूपमा सर्वोच्च अदालत ल्याइएको थियो। त्यसको दुई वर्षपछि उनी स्थायी न्यायाधीश र पछि वरिष्ठ न्यायाधीश भइन् । कार्कीले आफ्नो प्रधानन्यायाधीश कार्यकालमा सरकार र संसदलाई कानुन र संविधानको परिधि मिच्न दिइनन्।
कानुन र संविधान पालनाको बाटोमा सरकार र संसदसामु चट्टानझैं उभिइन् भनेर धेरैले उनको प्रंशसा गर्छन् । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ । राष्ट्रपति पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ । ४३ औँ प्रधानमन्त्रीको रुपमा नवनियुक्त भएकी कार्कीलाई राष्ट्रपति पौडेलले शपथ ग्रहण गराउँदै शुभकामना दिँदै भने– देश सफल होस् । जनताले सफलता प्राप्त गरुन् ।” प्रधानमन्त्री कार्कीसँगै केही मन्त्रीको शपथ ग्रहणको तयारी गरिएको बताइए पनि उनीहरुको शपथ ग्रहण हुन सकेन ।
अहिले भएको समारोहमा प्रधानमन्त्री कार्कीको मात्रै शपथ भएको छ । यसअघि तीनजना मन्त्रीलाई पनि शपथ गराउने तयारी रहेको थियो । शपथ समारोहमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल उपस्थित भएनन् । उक्त शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायतको उपस्थिति रहेको थियो ।
जेनजी आन्दोलनले एमाले– कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला सरकार प्रमुख बन्न सफल भएकी छन् । गत भदाँै २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।
अन्तरिम सरकार प्रमुख बनेकी सुशीला कार्की सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश हुन् । नेपालमा न्यायालय स्थापना भएको ६५ वर्षभन्दा लामो इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन् ।





