जनकपुरधाम ।
मधेस प्रदेशमा वर्षा नहुँदा समयमै धान रोपाइँ हुन सकेको छैन । असार महिना अन्त्यतिर पुग्दा समेत प्रदेशको झण्डै एक तिहाइ क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालयका अनुसार असार २७ गतेसम्ममा मधेस प्रदेशमा कुल धान रोपाइँ क्षेत्रफलको ३३.७८ प्रतिशतमा मात्र रोपाइँ भएको छ ।
वर्षा अभावकै कारण बिहीबार साँझ बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले वर्षा नहुँदा पानीको संकट सिर्जना भएको जनाउँदै राहतका लागि संघ सरकारसँग सहयोगको माग गर्ने निर्णय पनि गरेको हो । प्रदेशमा ५ लाख ४२ हजार ५८०.७८ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । तर, असार सकिन लाग्दा जम्मा १ लाख २५ हजार ८८८.६ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवका अनुसार मधेसका विभिन्न जिल्लाहरूमा रोपाइँको अवस्था फरक–फरक छ । पर्सामा सबैभन्दा बढी ७३.३४ प्रतिशत अर्थात २९ हजार १३८ हेक्टरमा रोपाइँ भएको छ भने सप्तरीमा सबैभन्दा कम १६ प्रतिशत अर्थात १० हजार ८८० हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ ।
त्यसैगरी रौतहटमा ४५ प्रतिशत, बारामा ४० प्रतिशत, सर्लाहीमा ४० प्रतिशत, सिरहामा २९ प्रतिशत, धनुषामा २५ प्रतिशत र महोत्तरीमा १८ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ । यो अवस्था हेर्दा असारको अन्त्यसम्म पनि मधेसका अधिकांश क्षेत्रहरूमा खेत सुक्खा रहेका छन् ।
धान खेतीको मुख्य समयका रूपमा लिइने असार महिनामा समेत पर्याप्त वर्षा नहुँदा उत्पादनमा गम्भीर असर पर्ने देखिएको छ । किसानहरू आकाशे पानीकै भरमा रहेको भन्दै चिन्तित देखिएका छन् ।





