काठमाडौं ।
एउटा मन्त्रालयको गाडी दुरुपयोग भएको घटना बाहिरिएपछि सरकारी सम्पत्तिको चरम दुरुपयोगको विकराल चित्र उजागर भएको छ । त्यसपछि सरकारले कडा कदम चालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी हराएको र फेला परेको प्रकरणपछि तरंगित बनेको सिंहदरबारले देशभरका सबै सरकारी निकायलाई आफ्नो मातहतमा रहेका सवारी साधनको सम्पूर्ण विवरण तत्काल बुझाउन कडा निर्देशन दिएको छ ।
श्रम मन्त्रालयको गाडी प्रकरण सार्वजनिक भएपछि सरकारी सवारी साधनको प्रयोग र संरक्षणमा देखिएको चरम लापरवाही र सम्भावित दुरुपयोगको मुद्दा सतहमा आएको थियो । यही घटनाबाट ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सबै मन्त्रालय, आयोग, समिति तथा अन्य सरकारी निकायहरूलाई परिपत्र गर्दै सवारी साधनको अद्यावधिक विवरण माग गरेको हो ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीद्वारा हस्ताक्षरित परिपत्रमा सरकारी स्वामित्वमा रहेका वा कुनै पनि माध्यमबाट हस्तान्तरण भई प्रयोगमा रहेका सबै दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनको विस्तृत लगत पठाउन भनिएको छ । ‘सवारी साधनको नाममा दर्ता रहेको तथा हस्तान्तरण भई प्रयोगमा रहेका सबै सवारी साधनहरूको विवरण (दुई पाङ्ग्रे वा चार पाङ्ग्रे) प्रयोग गरिरहेका अधिकृत वा कर्मचारीको नाम र पदसहित तोकिएको ढाँचामा तयार गरी उपलब्ध गराउन अनुरोध गरिन्छ,’ परिपत्रमा उल्लेख छ ।
निर्देशनअनुसार, प्रत्येक निकायले सवारी साधनको प्रकार, दर्ता नम्बर, हाल प्रयोग गरिरहेका कर्मचारी वा पदाधिकारीको नाम, पद र सवारी साधन प्रयोगको अवस्था (जस्तैः पुलमा रहेको, व्यक्तिगत प्रयोजनमा दिइएको, वा कार्यालय प्रयोजनमा) स्पष्ट खुलाई पठाउनुपर्नेछ ।





