काठमाडौं, असार ५
मनसुनको आगमनसँगै देशभर बाढी, पहिरो र प्राकृतिक प्रकोपका कारण सडक अवरुद्ध हुन सक्ने सम्भावना उच्च रहेको सन्दर्भमा सडक विभागले २७७ वटा मेसिन तथा उपकरण तयारी अवस्थामा राखेको जनाएको छ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार विभाग अन्तर्गतका विभिन्न कार्यालयहरूमा ब्याकहोलोडर, डोजर, ट्र्याक, एक्स्काभेटर, ह्वीलोडर, क्रेन, टिपर ट्रक लगायत २४ प्रकारका उपकरणहरू खटाइएका छन्।
“हामीसँग २७७ वटा उपकरण जोखिमयुक्त क्षेत्रमा मर्मतका लागि तयारी अवस्थामा छन्,” प्रवक्ता झाले बताए।
उनका अनुसार १२३ वटा उपकरण पहिरोको जोखिम भएका स्थानहरूमा सिधा अवरोध हटाउन र १५४ वटा निर्माण साइडमा रहेका उपकरणहरूलाई समेत आवश्यकता अनुसार प्रयोग गर्ने गरी तयारी गरिएको हो।
सावधानी र सूचना आग्रह
सडक विभागले अत्यावश्यक कामबाहेकका यात्रा टार्न र यात्रा गर्नु परेमा सावधानी अपनाउन आग्रह गरेको छ। साथै, सडक अवरोध भएमा नजिकको सडक डिभिजन कार्यालय वा विभागका स्थानीय इकाइहरूमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
मनसुनजन्य विपद्का बेला सडकहरू सहज बनाउन उपकरणहरूको तयारीले यातायात पुनः सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने विभागको भनाइ छ।





