काठमाडौं, कहिल्यै नचलेको अवस्थामा थन्किएको पुरानो प्रहरी भ्यान अहिले ‘स्मार्ट भ्यान’ मा रूपान्तरण भई जनसेवा प्रहरी वृत्तले अत्याधुनिक प्रविधिसहित प्रयोगमा ल्याएको छ। काठमाडौं उपत्यकाका १४ प्रहरी वृत्तहरूमध्ये यस्तो प्रविधिसम्पन्न अनुसन्धान भ्यान भएको यो एकमात्र वृत्त बनेको छ।
एफ–एए–०२९० नम्बरको टोयोटा भ्यान दुई महिनाअघि मात्र प्रहरी वृत्त जनसेवाको एक कुनामा बेवारिसेझैं थन्किएको थियो। थुनुवा ओसार्न समेत असहज त्यो भ्यानलाई जनसेवा प्रहरी वृत्तका प्रमुख डीएसपी कृष्णकुमार चन्दको पहलमा पुनः मर्मत गरिएको हो।
अपराध अनुसन्धानका लागि उपयोगी प्रविधि जडान
भ्यानमा अहिले विभत्स र गम्भीर प्रकृतिका घटनाहरूको अनुसन्धान गर्न आवश्यक पर्ने किटबक्स, उच्च रिजोल्युसन क्यामेरा, कम्प्युटर, प्रिन्टर, वायरलेस इन्टरनेट, सीसीटीभी जडान गरिएको छ। साथै, उद्धारका लागि स्टेचर, अक्सिजन र नयाँ शैलीको साइरन समेत राखिएको छ।
भ्यानमा जडान गरिएको प्रविधिको प्रयोगले घटनास्थलमा पुगेर तत्काल अनुसन्धान गर्न, प्रमाण संकलन गर्न, रिपोर्टिङ तथा प्रत्यक्ष निगरानी गर्न सहज बनाएको छ।
डीएसपी चन्द पुरस्कृत
प्रहरी प्रधान कार्यालयले २०५९ सालमा जनसेवा प्रहरीलाई हस्तान्तरण गरेको यो भ्यान पछिल्लो समयमा जीर्ण अवस्थामा पुगेको थियो। मर्मतपछि भ्यानले नयाँ जीवन पाएकोमा काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले डीएसपी कृष्णकुमार चन्दलाई पुरस्कृत समेत गरेका छन्।
टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयपछि यस्तो प्रविधियुक्त अनुसन्धान भ्यान राख्ने जनसेवा दोस्रो प्रहरी निकाय बनेको हो।





