काठमाडौं ।
केही साता अघिमात्रै नक्सालस्थित होटल हिल्टन खरिदको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवा जोडिएको भन्दै पत्रकार दिलभूषण पाठकले बनाएको भिडियो सामग्रीविरुद्धसमेत ब्युरोेले पाठक विरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ ।
प्रहरीले खोजी गर्दा पनि फेला नपारेपछि सार्वजनिक सूचनामार्फत् पाठकलाई ब्युरोमा हाजिर हुन भनेको छ । देउवा पुत्र जयवीरले दिएको उजुरीका आधारमा ब्युरोले पाठकविरुद्ध पक्राउ अनुमति पाएको हो ।
देउवा पुत्र जयवीरले निवेदनमा भनेका छन्,‘‘हिल्टन होटल खरिद बिक्रीबारे सञ्चालक शंकर ग्र्रुपले विज्ञप्तिमार्फत स्पष्ट पार्दा पनि त्यही विषयमा हिल्टनमात्रै नभइ, विदेशमासमेत जग्गाको कारोबारमा संलग्न रहेको भन्दै मानिसमा भ्रम सृजना हुने भिडियो प्रसारण गरेको पाइएकाले आवश्यक हुने कानुनअनुसार कारबाही गरी पाउँ ।’’
पाठक अहिले प्रहरीको सम्पर्कबाहिर छन् । उच्च अदालत पाटनले सोमबार पाठकलाई कानुन विपरीत धरपकड नगर्न आदेश गरेको छ । समाचारसँग सम्बन्धित विषय पनि प्रहरीले हेर्न लागेको भन्दै चौतर्फी विरोध भए पनि पाठकका सम्बन्धमा सरकारी दबाब प्रहरीले थेग्न सकेको छैन ।
ब्युरोमा मात्रै साइबर अपराध सम्बन्धि चालु आर्थिक वर्षको जेठसम्म १६ हजार ७१३ निवेदन परेका छन् । पछिल्लो समय इन्टरनेट प्रयोगकर्ता बढेसँगै साइबर अपराधका घटना पनि बढ्दो देखिएको छ । ब्युरोका एसपी अवस्थीका अनुसार हरेक महिना दुई हजार हाराहारीमा उजुरी पर्ने गरेको छ ।
प्रहरीको साइबर ब्युरोको कार्यालयले आर्थिक वर्ष २०७५/०७६ देखि काम गर्न थालेदेखि हालसम्म साइबर अपराध सम्बन्धी ५६ हजार ७०६ निवेदन परेका छन् । सुरुवाति आर्थिक वर्षमा भने ३५७ निवेदन परेको देखिन्छ । त्यसयता भने साइबर अपराधको तथ्यांक डरलाग्दोगरी उकालो लागेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा साइबर अपराधको निवेदन दुई हजार ३०१ पुगेको थियो । यो क्रम तीव्ररुपमा बढ्दै गएको आर्थिक वर्ष २०८०/०८१ मा आइपुग्दा १९ हजार ७३० वटा उजुरी दर्ता भएको अभिलेख ब्युरोमा छ ।
यसरी साइबर अपराध कसुरमा निवेदन दिनेहरुमा बालबालिकादेखि महिला र पुरुषसमेत छन् । गएको आर्थिक वर्षमा ३८२ बालिकाले ब्युरोमा उजुरी दिएका थिए । यसरी नै २५३ जना बालकले उजुरी दिएका छन् ।
साइबर ब्युरोको अभिलेखले साइबर अपराध सम्बन्धी सबैभन्दा बढी घटना सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत् हुने गरेको देखाएको छ ।
ब्युरोको अभिलेखअनुुसार चालु आर्थिक वर्षमा फेसबुकमार्फत् मात्रै ८ हजार ८५७ साइबर अपराध सम्बन्धी उजुरी परेका छन् । यसरी नै टिकटकमार्फत दुई हजार ४०६ वटा साइबर अपराधमा उजुरी आएका छन् ।
गएको आर्थिक वर्षमा पनि १६ हजार ९६ फेसबुक र ६९० टिकटकमार्फत् अपराध गरेको उजुरी ब्युरोमा परेको थियो । फेसबुक र टिकटकबाहेक साइबर ब्युरोमा भाइबर, इमो, युट्युब, ह्वाट्स एप, वी च्याट, ट्वीटर, इन्स्टाग्राम, टेलिग्राम, गुगल, ईमेल, ई–सेवामार्फत् अपराध गरेको उजुरी ब्युरोमा पुरेको हो ।
तर, यसरी नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालको नियमन गर्ने निकाय देशमा नहँुदा कानुनी दायरामा भने थोरै आउने गरेको प्रहरीको भनाइ छ । ब्युरोका अधिकारीका अनुसार पछिल्लो समय ब्युरोले विभिन्न व्यक्तिको सामाजिक सञ्जाल आफैँले समेत निगरानी गर्न थालेको छ ।
विवादित र सामाजिक सञ्जालमार्फत प्रतिष्ठित व्याक्तिमाथि भ्रम सृजना हुने खालका सामग्री बनाउने आधारहीन विषयलाई उठाउने व्यक्तिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
यसका लागि ब्युरोले छुट्टै डेस्क नै राखेर निगरानी गर्ने गरेको छ । आपत्तिजनक र साइबर कानुन आकर्षित हुने खालको सामग्री भेटे प्रहरीकै प्रतिवेदनका आधारमा पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउने गरेको छ ।





