जनकपुरधाम । धनुषा जिल्लामा श्रीमतीमाथि बलात्कार गरेको आरोपमा एक जना दोषी ठहर भएका छन् । जिल्ला अदालत धनुषाका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले उनलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।
वैवाहिक बलात्कारसम्बन्धी उक्त मुद्दामा अदालतले जेठ १३ गते श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मुद्दा पेश गर्ने आदेश दिएको थियो । त्यसपछि जेठ २९ गतेको पेशीमा सजाय पूर्व प्रतिवेदन पेस गर्न निर्देशन दिइएको थियो ।
अन्ततः असार १ गते (शुक्रबार) भएको अन्तिम सुनुवाइमा अदालतले उनलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्तिको फैसला सुनाएको हो ।
२०७९ चैत २१ गते पीडित पत्नीले धनुषा जिल्ला अदालतमा श्रीमानविरुद्ध जबर्जस्ती करणीको उजुरी दर्ता गराएकी थिइन् । २०८० साउन २१ गते पहिलो पटक पेशी चढेको थियो । अदालतले प्रारम्भिक सुनुवाइमा प्रतिवादीलाई धरौटीमा राख्ने आदेश दिएको थियो ।





