अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २४, शनिबार १७:४८

ओस्लो।

युरोपका अधिकांश देशहरूमा टेस्ला गाडीको बिक्रीमा गिरावट देखिएको बेला नर्वेमा भने यसको माग फेरि बढेको देखिएको छ ।  सार्वजनिक भएको उद्योगसम्बन्धी तथ्याङ्कले यसबारे जानकारी दिएको हो ।

नर्वेली उपभोक्ताहरू टेस्लाप्रति पुनः आकर्षित भएका छन्, जसको मुख्य कारण कम्पनीले शून्य ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनु र नयाँ मोडेल ‘वाई’ बजारमा ल्याउनु रहेको बताइएको छ । यो मोडेल पछिल्ला तीन महिनादेखि नर्वेमा सबैभन्दा धेरै बिक्री भएको गाडी बनेको छ ।

नर्वे विद्युतीय सवारी साधनको प्रयोगमा विश्वमै अगाडि रहेको देश हो । नर्वेली सडक महासङ्घ (ओएफभी)का अनुसार, मे महिनामा नर्वेमा दर्ता भएका नयाँ गाडीमध्ये ९३ दशमलव ९ प्रतिशत विद्युतीय थिए । यस वर्षको पहिलो पाँच महिनामा यो अनुपात ९२ दशमलव ७ प्रतिशत रहेको छ ।

मे महिनामा टेस्लाले नर्वेमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनीको उपाधि पुनः प्राप्त गरेको छ । सो महिनामा टेस्लाको बिक्री तीन गुणाले बढेर कुल नयाँ गाडीको १८ दशमलव २ प्रतिशत पुगेको हो ।

यद्यपि, वर्षको पहिलो पाँच महिनामा टेस्लाको कुल बिक्री ८ दशमलव ३ प्रतिशत मात्र बढेको छ, जुन समग्र गाडी बजारको ३० दशमलव ६ प्रतिशत वृद्धिको तुलनामा कम हो । सो अवधिमा टेस्लाको बजार हिस्सा १२ दशमलव ९ प्रतिशत रहेको छ, जसले यसलाई जर्मन कम्पनी भोल्क्सवागनपछि दोस्रो स्थानमा राखेको छ ।

युरोपेली सङ्घभित्र भने अप्रिल महिनामा टेस्लाको बिक्री आधा घटेको थियो । त्यहाँ टेस्लाको बजार हिस्सा घटेर एक दशमलव एक प्रतिशतमा झरेको देखिन्छ । यसको कारण चिनियाँ गाडी कम्पनीहरूको तीव्र प्रतिस्पर्धा र केही उपभोक्ताहरूले कम्पनीका मालिक इलन मस्कको राजनीतिक विचार तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धप्रति असन्तुष्टि देखाउनु हो भनिएको छ ।

ओएफभीका निर्देशक ओइभिन्ड सोलबर्ग थोर्सेनले भन्नुभयो,“नर्वेमा टेस्लाको बिक्री अवस्थाले अन्य युरोपेली मुलुकहरूको तुलनामा फरक र विशेष स्थिति देखाउँछ, जहाँ यसको माग घट्दो क्रममा छ ।”

प्रयोग गरिएको गाडी व्यवसायमा आवद्ध विश्लेषक जोनाथन पारले टेलिभिजन च्यानल दुईसँग भन्नुभयो, “नर्वेली उपभोक्ताका लागि मूल्य सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।”

“धेरै नर्वेलीहरू इलन मस्कलाई मन नपराए पनि टेस्ला चढ्न कुनै हिचकिचाहट मान्दैन ।”

यद्यपि, केही नर्वेली सञ्चारमाध्यमहरूले पछिल्ला महिनाहरूमा केही टेस्ला प्रयोगकर्ताहरूले आफ्नो गाडी बेच्न थालेको र भविष्यमा टेस्ला नकिन्ने निर्णय लिएको समाचार प्रकाशित गरेका छन् । 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार