अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १९, सोमबार १६:३६

काठमाडौं ।
एमाले निकट नेपाल बुद्धिजिवी परिषद्को ११औं महाधिवेशन गत जेठ १७ गते काठमाडौंको टोखामा सुरू भयो । महाधिवेशनको प्रमुख अतिथि भएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली उक्त कार्यक्रममा गएका थिए ।
उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलोपटक ‘झोले’ शब्दलाई धेरै नै जोड दिएर बोले ।
‘मलाई अलिकति पनि अप्ठेरो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ । जनताको हितहरूको झोला बोक्ने, जनताको हितको झोला बोक्ने, गौरवको झोला बोक्ने,परिवर्तनको झण्डा उठाउने झोले हुँ, के भयो त झोले बन्दा ?’, ओलीले भनेका थिए ।
प्रधानमन्त्री ओली त्यतिमै रोकिएनन् । देश संक्रमणकालमा रहेको र सही निकास खोजिरहेकाले परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह पनि उनले गरे ।
‘म एमालेको झोले हुँ । यस देशका जनताको झोले हुँ । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई ? यतिभन्दा एमालेको विरोधीहरूलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।
जेमा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्न उनले आग्रह गरेका थिए । उनको आग्रहलाई बुद्धिजिवीहरूले कसरी लिए सार्वजनिक गरिसकेका छैनन् । यस्तो घोषणा गरेको दुई दिनपछि सोमबार प्रधानमन्त्री ओलीले आफूलाई झोले भन्दै सामाजिक सञ्जाल फेसबुकमा आफू झोले भएको पोस्टर पोष्ट गरेका छन् ।
दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’, पोस्टरमा लेखिएको छ ।

प्रधानमन्त्री ओलीले पोस्टर बाहेक पनि स्टाटस लेखेका छन् । जहाँ ओलीले झोले आरोपबाट नडराउन कार्यकर्तालाई प्रोत्साहन गरेका छन् । ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामुहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउन पर्छ’, ओलीले लेखेका छन् ।
प्रधानमन्त्री ओलीले आफूलाई झोले भन्दै पोष्टर सार्वजनिक गरेपछि उनको पदचाप पछ्याउँदै एमालेका नेता कार्यकर्ताहरूले आफूलाई झोले घोषणा गर्दै फेसबुकमा लेख्न थालेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत नेताहरू आफूलाई झोले घोषणा गरिसकेका छन् ।
अहिले एमालेका कार्यकर्ताहरूले पनि पोष्टरमा आफ्नो फोटो टाँस्दै म झोले हुँ भन्दै गरेको पोष्टहरू छ्याप्छ्याप्ती छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार