एजेन्सी ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणकै कारण भारतमा पछिल्ला २ दिनमा मात्रै २१ जनाको मृत्यु भएको छ । कोरोनाका कारण पछिल्लोपटक शनिबार बेंगलुरुमा ६३ वर्षीय पुरुष र दिल्लीमा एक ६० वर्षीय पुरुषकै मृत्यु भएको हो ।
अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ । यसमा सबैभन्दा बढी केरलामा १ हजार ४ सय जना संक्रमित छन् । अनि महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ कोरोनाका बिरामी छन् ।
पछिल्लो ४८ घण्टामा मात्र हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ। तीमध्ये २१ जनाको मृत्यु पछिल्ला २ दिनमा भएको हो ।
यसैबीच कर्नाटक सरकारले सूचना जारी गरी भीडभाड भएका ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन मानिसहरूलाई आग्रह गरेको छ । ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै परीक्षण गर्न भनिएको छ ।
छिमेकी मुलुक र खुला सीमा भएका कारण भारतमा कोरोना संक्रमण बढ्दै जाँदा स्वाभाविक रूपमा नेपालमा पनि जोखिम बढेको छ ।





