एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो क्वालिफायर र इलिमिनेटरको टुंगो लागेको छ । पहिलो क्वालिफायर पञ्जाब र आरसिबीले खेल्नेछन् भने इलिमिनेटरमा मुम्बई र गुजरातको प्रतिस्पर्धा हुनेछ ।
समूह चरणका खेल सकिँदा १२१७ छक्का र २१३८ चौका प्रहार भएका छन् । समूह चरणबाटै बाहिरिएको लखनउ सुपर जायन्ट्सका निकोलस पुरणले सर्वाधिक ४० छक्का प्रहार गरेका छन् । उनी वेस्ट इन्डिजका विकेटकिपर र ब्याट्सम्यान हुन् ।
गुजरात टाइटनका साई सुदर्शनले ६७९ रन बनाउँदै सर्वाधिक रनको सूचीमा आफ्नो नाम पहिलो नम्बरमा लेखाएका छन् । दोस्रो नम्बरमा गुजरातकै कप्तान शुभमन गिल छन् । उनले ६४९ रन बनाएका छन् भने मुम्बई इन्डियन्सका सूर्यकुमार यादव ६४० रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडी सूचीको तेस्रो नम्बरमा छन् ।
त्यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको पहिलो नम्बरमा नूर अहमद छन् । तालिकाको पुछारमा रहँदै समूहचरणबाट बाहिरिएको चेन्नइका लागि अहमदले २४ विकेट हात पारेका हुन् । त्यसैगरी दोस्रो नम्बरको सर्वाधिक विकेट लिने खेलाडीमा प्रसिद्ध कृष्ण छन् । गुजरात टाइटनका उनले २३ विकेट हात पारेका छन् । तेस्रो नम्बरमा भने मुम्बई इन्डियन्सका ट्रेन्ट बोल्ट छन् उनले १९ विकेट लिएका छन् ।
आईपीएल यो सिजनमा सर्वाधिक शतक प्रहार गर्ने टिम सनराइजर्स हैदरावाद बनेको छ । उसका लागि इशन किसन, अभिषेक शर्मा र हेनरिक क्लासेनले शतक प्रहार गरेका हुन् । लखनउका लागि मिचेल मार्श र ऋषभ पन्तले शतक प्रहार गरेका छन् ।
राजस्थान रोयल्सका लागि वैभव सूर्यवंशी, दिल्लीका लागि केएल राहुल, पञ्जाबका प्रियांश आर्य र गुजरातका लागि सुदर्शनले शतक प्रहार गर्दा यो सिजनको समूहचरण सकिँदा नौ वटा शतक प्रहार भएका छन् ।
राजस्थानका वैभवले १४ वर्षमा आईपीएल खेलेर धेरै रेकर्ड बनाए । डेब्यु खेलको पहिलो बलमा छक्का प्रहार गर्नेदेखि छोटो उमेरमा आईपीएलमा शतक प्रहार गर्ने खेलाडीको रुपमा उनले आफ्नो नाम लेखाएका छन् ।
राजस्थानबाट जम्मा सात खेल खेल्दा कुल २५२ रन बनाएका उनले सर्वाधिक १०१ रन बनाए । सात खेलमा १८ चौका र २४ छक्का प्रहार गरेका उनले एउटा अर्धशतकसमेत बनाए । यो सिजनको आईपीएलमा उनी एक चर्चा योग्य खेलाडी बनेर उदाए ।
यो सिजनको समूह चरणका खेल सकिँदा आरसिबीका विराट कोहलीले आठ पटक अर्धशतक पार गरे । एकै सिजनमा कुनै ब्याट्सम्यानले सबै भन्दा धेरै पटक ५० रनको आँकडा पार गरेको यो पहिलो पटक हो । विराटले अर्धशतक बनाएका ८ वटा खेलमा नै आरसिबी विजयी भयो ।





