अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १, बिहीबार १६:५२

काठमाडौं ।

साँघुरो कोठामा १०/१२ जना कामदार सञ्चो प्याकिङ गर्न व्यस्त छन् । हावा पास हुने पर्याप्त ठाँउ छैन । कोठाभित्र प्रवेश गर्नासाथ सञ्चोको तिखो राग नाकभित्र स्वाट्टै पस्छ ।

‘सञ्चोको बाफले शरीर तातेर काम गर्न नै सकस भइरहेको छ,’ सञ्चो प्याकिङ गरिरहेका विदुर पोखरेलले प्रशासन प्रमुखसमक्ष समस्या पोखे ।

जवाफ फर्काउँदै प्रशासन प्रमुख धर्मलाल नेपालले भने, ‘बँचेको यही एउटा कोठा हो । केही समय धैर्य गरौं । सरकारलाई भवन मर्मत गरिदिन हार-गुहार गरिहेका छौं ।’

१५ चैतमा राजावादी समर्थकले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी गर्दा पूरै संरचना ध्वस्त भयो ।

धेरैको अनुमान थियो- अब सञ्चो कम्पनी ब्युँतिन गाह्रै पर्ला !

घटना भएको दुई महिनापछि पुनः सञ्चो उत्पादनले लय समात्दैछ । जडीबुटी कम्पनीको मुख्य उत्पादन सञ्चो गत सातादेखि नै बजारमा बिक्री हुन थालिसकेको छ ।

पूरै संरचना ध्वस्त हुँदा पनि सञ्चो उत्पादन कसरी गर्न सम्भव भयो ?

‘सञ्चो उत्पादनका लागि आवश्यक केही कञ्चा पदार्थ शाखामा स्टोर थियो,’ सूचना अधिकारी समेत रहेका नेपाल भन्छन्, ‘त्यसलाई कम्पनीमा ल्याएर पुनः सुरु गर्ने योजनाका साथ अगाडि बढिहाल्यौं ।’

उनका अनुसार मोरङ, सुनसरी, जारजरकोट, कैलालीका शाखामा सञ्चोका ९ लाख सिसीलाई पुग्ने कञ्चा पदार्थ थियो ।

कम्पनीको बिरासत सञ्चो प्रोडक्टले नै बोकेको हुँदा अहिले मुख्य उत्पादन सञ्चोमा नै केन्द्रित भएको छ ।

सरकारी स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी २०५६ सालदेखि सञ्चो उत्पादन गर्न थालेको हो । सञ्चो जस्तै उत्पादन गर्ने निजी कम्पनी पनि छन् । तर जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

कम्पनीले सञ्चो, सञ्चो बाम (भिक्स), सञ्चो शिलाजित, हिमालय मसाज तेल, बाम तेल, सञ्चो जटा केश तेल, सञ्चो पेन रिलिफ आयल उत्पादन गर्दै आएको थियो । तीमध्ये सञ्चो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टिकाउने प्रमुख उत्पादन हो ।

‘बजारमा अन्य प्रोडक्टलाई हावी हुन नदिन योजना बनाएर सञ्चो उत्पादनमा केन्द्रित भयौं,’ नेपाल भन्छन्, ‘अहिले बजारको मागअनुसार नै उत्पादन गरिरहेका छौं ।’

पूरै संरचना ध्वस्त हुँदा पनि सञ्चो उत्पादन कसरी सम्भव भयो ? प्रशासन प्रमुख धर्मलाल नेपाल भन्छन्- मोरङ, सुनसरी, जारजरकोट, कैलाली शाखामा स्टक रहेको कच्चा पदार्थ ल्याएर उत्पादन थाल्यौं ।

२०८१ सालदेखि आधुनिक स्वचालित प्रविधिमा सञ्चो उत्पादन हुन थालेको थियो । उक्त मेसिन जल्दा हाते प्रविधिकै भर पर्नुपरेको छ । मेसिन हुँदा नयाँ प्याकमा ५ र १० मिलिलिटरमा आउने गरेको सञ्चो हाल ५ मिलिलिटरमा मात्रै आउने गरेको छ ।

ज्यालादारीमा काम गर्ने ३५ भन्दा बढी कर्मचारीले हाते प्रविधिबाट नै सञ्चो भर्नेदेखि प्याकिङसम्मको काम गर्दै आएका छन् ।

‘नयाँ मेसिन खरिद प्रक्रियाको लागि लामो समय लाग्छ । तर अहिलेका लागि बजारमा सञ्चो पठाउन हाते प्रविधिबाट नै काम गरिहेका छौं,’ नेपाल भन्छन् ।

अहिले दैनिक रूपमा ५० देखि ६० कार्टुन सञ्चो प्याकिङ हुन गरेको छ ।

‘पहिला सञ्चो भर्ने काम आधुनिक स्वचालित प्रविधिबाट हुन्थ्यो, प्याकेजिङको काम मानिसले गर्थे,’ उनले स्पष्ट पारे, ‘अहिले दुवै काम मानिसबाट नै हुँदै आएको छ ।’

एउटै कोठामा सञ्चो भर्नेदेखि प्याकिङको गर्नुपर्ने बाध्यता छ । ल्याब परीक्षण भने वनस्पति विभागमा हुँदै आएको छ ।

‘चैत १५ गतेको आन्दोलनमा गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’(जीएमपी) सुविधासहितका दुईवटा भवनमा क्षति पुग्नुका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी हुँदा २८ करोडको क्षति भएको कम्पनीको दाबी छ ।

एक वर्षमै लयमा ल्याउने योजना

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कम्पनी ऐनअन्तर्गत चलेको कम्पनी हो । यो आफैँ कमाउने, आफैँ सञ्चालन हुने संस्था हो ।

सञ्चो बिक्री गरेर कर्मचारीलाई तलब खुवाउन सके पनि भौतिक पूर्वाधार थप गर्न भने सरकारकै भर पर्नुपर्ने अवस्था छ ।

अबको एक वर्षमा पुरानै लयमा फर्किने गरी काम भइरहेको नेपाल दाबी गर्छन् ।

‘पहिलाकै अवस्थामा आउन हामीलाई एक वर्ष लाग्छ होला,’ उनले भने, ‘भौतिक पूर्वाधार थप गर्न सरकारसँग हारगुहार गरिरहेका छौं ।’

कम्पनीको प्रशासनिक भवनको मर्मत लगभग सकिएको छ । उत्पादन हुने कारखानाको एक भवन पूरै काम नलाग्ने गरी जलेको छ । अर्को भवनको पुनर्संरचना गर्नुपर्ने देखिएको छ । भौतिक पूर्वाधार निर्माणका लागि करिब १० करोडको आवश्यकता परेको नेपालले बताए ।

‘हामीले वन मन्त्रालयमा १० करोड माग गरेका छौं । त्यहाँबाट फाइल अर्थमन्त्रालय पुगेको छ,’ नेपाल भन्छन्, ‘आगामी बजेटले माग सम्बोधन गर्छ भन्ने आशा लिएका छौं ।’

गत वर्ष ११ करोड रुपैयाँको सञ्चो बिक्री भएको थियो । यस वर्ष पनि अघिल्लो वर्षकै हाराहारीमा सञ्चो उत्पादन गर्ने लक्ष्यअनुरूप अगाडि बढिरहेको उनी दाबी गर्छन् ।

‘बजारको माग पुगेन भने अन्य शाखामा पनि जनशक्ति थपेर उत्पादन बढाउँछौं,’ नेपाल भन्छन्, ‘बजारको मागमा अन्य प्रोडक्ट हावी हुन दिने छैनौं ।’

स्थानीय रोजगारी र जडिबुटी खेतीमा पहल

जडिबुटी कम्पनीले स्थानीय स्तरसम्म पुगेर रोजगारी दिँदै आएको छ । सञ्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ जडिबुटीको खेती कम्पनीको आफ्नै जग्गामा हुने गरेको छ ।

त्यति मात्रै होइन, सञ्चो उत्पादनका लागि बिउ कम्पनीले नै वितरण गर्दै आम नागरिकलाई रोजगारी दिँदै आएको छ ।

कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडिबुटीको कारोबार गरिरहेको छ । जसमा ९ सयभन्दा बढी किसान जडिबुटी खेतीमा जोडिएका छन् ।

कम्पनीमा १७ स्याथी, केही मासिक करार र केही ज्यालादारी गरी ४ सयभन्दा बढी कर्मचारीले काम गरिरहेका छन् । कम्पनीमा ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी कार्यरत छन् ।

कम्पनीसँग बाराको तामागढमा ५ सय बिघा, मोरङको बेलबारीमा ७० हेक्टर, सुनसरीको तरहरामा २५ हेक्टर र कैलालीको टीकापुरमा साढे चार बिघा जमिन छ ।

‘सञ्चो उत्पादन गर्नका लागि खेती गर्नेदेखि बजारसम्म बिक्री कम्पनीले आफैंले नै गर्छ,’ नेपालले स्पष्ट पार्दै भने, ‘किसानसँग जोडिएर चाहिने कञ्चा पदार्थ उत्पादन, प्याकेजिङ गर्दै बजारमा पठाउने काम हामी आफैंले गर्छौं ।’

सञ्चोको मुख्य सिजन नै जाडो महिना हो । किनकि, जाडो महिनामा मानिसलाई बढी रुघाखोकी लाग्छ । जाडो महिनालाई लक्षित गर्दै उत्पादनमा थप जोड दिने काम भइरहेको उनी बताउँछन् ।

नेपाल भन्छन्, ‘सुरुवाती दिनमा अन्य प्रोडक्ट हाबी हुन्छ भन्ने सोचाइ थियो । तर कम्पनीले बजारको मागलाई टुट्नै दिएन ।’

‘गत वर्षकै अनुपातमा सञ्चो बिक्री हुन थालिसकेको छ,’ उनी भन्छन्, ‘एक लेबलको उत्पादन भइसकेको छ । अब बढाउँदै लैजाने योजनामा छौं ।’

खण्डहरमा परिणत भएको भवनलाई विस्तारै ब्युँताउँदै जानुपर्ने अवस्था रहेको नेपाल बताउँछन् ।

२८ वर्षदेखि काम गर्दै आएका नेपाल भन्छन्, ‘कम्पनीको अवस्था अहिले सुरुवाती दिनको जस्तै छ । सरकारले गर्व गर्ने संस्था भएकाले पुनःउत्थान लागि सोच्नुपर्छ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार