जनकपुरधाम ।
देशभरका कारागारमा क्षमताभन्दा १० हजार बढी कैदीबन्दी रहेका पाइएको छ ।
७५ वटा कारागारमा १८ हजार ५७२ जना कैदीबन्दी बस्ने क्षमता रहेको छ । तर, २९ हजार १२ जना बसिरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
कारागारमा सरदर १०० जना कैदीबन्दी बस्ने ठाउँमा १५६ जना बस्न बाध्य रहेको उनले बताए । पुर्पक्षका लागि जेल चलान भएका र अदालतबाट दोषी ठहर भएकाहरूको संख्या हो यो । गत भदौ १३ गते १३ सय ७० जना क्षमताको नुवाकोट कारागार बनाएको उनले बताए । मंगलबार विराटनगरमा नवनिर्मित कारागार भवन उद्घाटन कार्यक्रममा भट्टराईले यस्तो जानकारी दिएका हुन् ।
विराटनगरमा साविकको क्षमतामा थप गरेर नयाँ भवन बनाइएको हो । नवनिर्मित कारागार भवनमा २१८ जना पुरुष र ९९ जना महिला गरेर ३१७ जना बस्ने गरी नयाँ भवन बनाइएको हो । क्षमता विस्तारसँगै ४६८ पुरुष र १५९ महिला गरी ६ सय १७ जनाको क्षमता यस कारागारमा पुगेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी, जिल्ला कारागार प्रशासन भवन, सुरक्षा पर्खाल, सुरक्षा पोष्ट, सीमा पर्खाल सुरक्षा जाँच कक्ष, कारागारभित्र सडक सञ्जाल, पानी भण्डारण पोखरी, बगैँचा, शौचालय निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ ।
क्षमता थप गर्दा समेत कैदीबन्दीहरूलाई बस्न भने सहज छैन । अहिले पनि क्षमताभन्दा बढी कैदीबन्दी यहाँ रहेका छन् । हाल पुरुषतर्फ ९३२ र महिलातर्फ १०९ गरी कूल १ हजार ४१ जना कैदीबन्दी र ३ जना आश्रित बालबालिका बसिरहेको मोरङ कारागार प्रमुख गौरव ढुंगेलले बताए । नयाँ भवन निर्माण भए पनि क्षमता भन्दा झन्डै दोब्बर कैदीबन्दी मोरङ कारागारमा छन् ।
नयाँ भवनमा भने योग अभ्यास, ध्यान गर्नका लागि योग कक्ष पनि बनाइएको कारागार प्रशासनले जनाएको छ । कैदीबन्दीको मानसिक र शारीरिक स्वास्थ्य तन्दुरुस्त राख्नका लागि स्वास्थ्य उपचार र सामाजिक मनोपरामर्शका कार्यक्रम लागू गरिने प्रशासनले जनाएको छ ।
‘कैदीहरू इलममा लागेको अवस्थामा उनीहरूको मानसिक तनाव कम हुन्छ’, महानिर्देशक भट्टराईले भने, ‘एक÷दुई पैसा आर्जन गरेर आफ्नो र घरपरिवारका लागि आर्थिक योगदान पु¥याउन पनि सकिन्छ ।’
कारागारभित्र सिकेको सीप बाहिर गएपछि पनि व्यवसायको रूपमा विकास गर्न सकिन्छ भन्ने उद्देश्यले कैदीबन्दीलाई विभिन्न सीप सिकाइरहेको उनले बताए ।
गलैँचा बुन्ने, मुढा बनाउने, फर्निचर बनाउने, हस्तकलाका सामाग्री बनाउने काम कैदीबन्दीले गरिरहेको भट्टराईले बताए । कारागारलाई सुधार गृहका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको पनि उनले बताए ।
नवनिर्मित कारागार भवन गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन् । कार्यक्रममा गृहमन्त्री लेखकले कैदीबन्दीको मानवअधिकार रक्षा गर्न र स्वास्थ्यलगायतको सुविधाप्रति सरकार संवेदनशील रहेको बताए ।
कारागारलाई सुधारगृहको रूपमा विकास गर्न उत्पादनमूलक उद्यम विकास गरिने र कैदीबन्दीलाई उद्यमशील विकास कार्यक्रममा सहभागी गराइने उनले बताए । कैदीबन्दीहरूको शारीरिक र मानसिक अवस्थामा सुधार ल्याउन योग अभ्यास, खेलकुद, पठनपाठन र अन्य मनोरञ्जनात्मक क्रियाकलापका लागि आवश्यक व्यवस्थापन मिलाउने मन्त्री लेखकले बताए ।
संघीय शहरी विकास तथा भवन कार्यालय मोरङले ३५ करोड ४४ लाख ५१ हजार ८७४ रूपैयाँ लागतमा नयाँ कारागार भवन निर्माण गरेको हो । कारागार भवन निर्माणका लागि ५४ करोड ५८ लाख ९४ हजार ३१५ रूपैयाँको ठेक्का आह्वान भएको थियो ।
आशिष आशीर्वाद स्वामिनारायण जेभीले ३६ करोड १२ लाख ८५ हजार २८० रूपैयाँमा निर्माण गर्ने गरि ठेक्का कवोल गरेको थियो । निर्माण कम्पनीले २०७८ साल असार २४ गते दुई वर्षभित्र निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । समयमा निर्माण सम्पन्न नगरेपछि एक पटक म्याद थप गरिएको थियो । यो भवनको निर्माण गत पुस २४ गते सम्पन्न भएको थियो ।





