एजेन्सी ।
भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण आइपीएलका बाँकी मैचहरु स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएल २०२५का बाँकी खेलहरू अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो । आईपीएलको यो सिजनको मे २५ तारिखमा फाइनल खेल कोलकातामा हुने तय गरिएको थियो । तर अहिले ७४ खेलमध्ये ५७ खेल मात्रै सम्पन्न भएका छन् । बाँकी खेल कहिले हुने भन्नेबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन ।
बिहीबार धर्मशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल सुरक्षा कारणले रोकिएको थियो । भारत–पाकिस्तान तनावका कारण धर्मशालामा ब्ल्याकआउट गरिएको थियो, जसको असर खेलमा देखियो । खेल रोकिँदा पंजाब किंग्सले १०ओभर १ बलमा १ विकेट गुमाउँदै १२२ रन बनाइसकेको थियो । त्यसपछि खेलाडीहरू र अन्य स्टाफलाई सुरक्षित स्थानमा सारिएको थियो ।
मौजूदा परस्थितिलाई ध्यानमा राख्दै धेरै विदेशी खेलाडीहरूले सुरक्षा चिन्ता व्यक्त गरेका थिए । बीसीसीआईले त्यसैलाई ध्यानमा राख्दै सबै खेलाडीहरूको सुरक्षालाई प्राथमिकता दिँदै प्रतियोगिता स्थगित गर्ने निर्णय लिएको हो ।





