जनकपुरधाम ।
अनलाइन ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।
उनीहरूले अनलाइनको दुरुपयोग गरेर २ करोड ६३ लाख ९ हजार तीन सय १२ रुपैयाँ ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । पक्राउ पर्ने सबै २५ वर्ष मुनिको रहेको र सबै विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।
उनका अनुसार धनुषाधाम नगरपालिका –१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका –१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका –२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा पक्राउ परेका छन् ।
उनीहरूले सस्तोमा मोबाइल, मोटरसाइकल जस्ता समान दिने भनेर स्थानीयलाई ठगी गर्ने गरेका थिए । पक्राउ परेकाहरूको साथबाट १० वटा मोबाइल समेत फेला परेको छ । ती मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आईडीसमेत गरी १ सय ८७ वटा खाता खोलेको प्रहरी अनुसनधानमा देखिएको छ ।
उनीहरूले सस्तो दरमा समान दिने भनेर अनलाइन ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनीहरूले अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गरेका थिए । हालसम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।






