एजेन्सी ।
भारतले मंगलबार राति कम्तिमा ५ स्थानलाई लक्षित गर्दै गरेको हवाई हमलालाई पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले ‘कायरतापूर्ण आक्रमण’ भन्दै जवाफ दिइने बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘धोकेवाज दुश्मनले पाकिस्तानको पाँच स्थानमा कायरतापूर्ण हमला गरेको छ, यो घृणित आक्रमणको कुनै पनि हालतमा जवाफ नदिइ छाडिन्न ।’ भारतको यो आक्रमणको जवाफ दिन पाकिस्तानले पूर्ण अधिकार राख्ने समेत उनले भनेका छन् ।
भारतको हवाई हमलामा परेर कम्तिमा ३० जना मारिएको प्रारम्भिक विवरण आएका छन् । कयौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
भारतले चाहिँ दुई साताअघि जम्मु कश्मिरको वैसरण उपत्यकामा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ गरिएको भनेको छ । भारतीय सेनाले ‘न्याय दिइएको’ भन्दै संक्षिप्त प्रतिक्रिया दिएको छ ।
भारतको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय सैन्य बलहरुले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा आतंकवादी संरचनाहरुलाई लक्षित गरेर अपरेशन सिन्दुर चलाएका छन्, जहाँबाट भारतविरुद्ध आतंकवादी हमलाको योजना बनाइएको थियो र निर्देशन दिइएको थियो ।’
विज्ञप्तिमा यसलाई पहलगाममा भएको आततायी हमलामा नेपाली नागरिकसहित २५ भारतीयको हत्याको जवाफी कदम भएको भनिएको छ । ‘यस आक्रमणका लागि जिम्मेवार व्यक्तिहरुलाई जवाफदेही बनाइनेछ भन्ने प्रतिबद्धता हामी पूरा गर्दैछौं’, विज्ञप्तिमा भनिएको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बेलायती समाचार संस्था द गार्डियनसँग कुरा गर्दै आफूहरु जवाफी कारबाहीको प्रक्रियामा रहेको भनेका छन् । उनले भनेका छन्, ‘बिहान हुनुभन्दा पहिल्यै पाकिस्तानको प्रतिक्रिया देख्न पाउनु हुनेछ ।’
बिहान ५ बजेतिर जियोन्यूजसँग कुरा गर्दै सञ्चारमन्त्री अतुल्लहा तरारले पाकिस्तानले ५ वटा भारतीय जेटलाई खसालिएको बताएका छन् । पाकिस्तानी अखबार द डाउनका अनुसार, भारतले एउटा आक्रमण पाकिस्तानको सबैभन्दा बढी जनसंख्या भएको पञ्जाब प्रदेशको वहालवलपुर शहरमा गरेको थियो । त्यहाँ रहेको एउटा मस्जिदलाई निशाना बनाइएको थियो ।
त्यहाँ एक बालकको मृत्यु भएको भनिएको छ । अन्य आक्रमणण पञ्जाब नजिक र पास्तिान प्रशासित कश्मिरको कोटली क्षेत्रमा भएका थिए ।
पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु
पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिंदै कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन् ।
त्यस्तै, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताएका छन्।
चौधरीका अनुसार आक्रमणमा एक मस्जिदसहित कैयौं स्थानहरूलाई निशाना बनाइएको थियो।
यस घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूरा अधिकार राख्ने बताएका छन् ।
हवाई हमलापछि भारतीय एयरलाइन्सहरूको ट्राभल एडभाइजरी, कैयौं उडान रद्द
भारतले ‘अप्रेसन सिंदूर’ सुरु गरेपछि विभिन्न भारतीय एयरलाइन्सहरूले ट्राभल एडभाइजरी जारी गरेका छन् । यसका कारण धेरै उडानहरू रद्द भएका छन् र केही प्रभावित भएका छन् ।
एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले यात्रुहरूलाई सतर्क रहन आग्रह गर्दै सूचित गरेका छन् । उनीहरूले उत्तर भारतका केही क्षेत्रमा हवाई यातायातमा अस्थायी अवरोध आएको जानकारी दिएका छन् ।
एयर इन्डियाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेको छ, ‘वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै, एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोट जाने–आउने सबै उडानहरू रद्द गरेको छ।’
साथै, अमृतसरका लागि तय दुई अन्तर्राष्ट्रिय उडानलाई दिल्लीतर्फ डाइभर्ट गरिएको जानकारी पनि दिइएको छ ।
स्पाइसजेटले धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरलगायत उत्तर भारतका केही विमानस्थलहरू अर्को सूचनासम्म बन्द गरिएको जनाएको छ ।
त्यस्तै इन्डिगोले पनि श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ़ र धर्मशालातर्फका उडानहरू प्रभावित भएको जानकारी दिएको छ ।
तीनवटै एयरलाइन्सले यात्रुहरूलाई फ्लाइटको अवस्थाबारे जानकारी लिएर मात्र विमानस्थल पुग्न अनुरोध गरेका छन् ।
भारत–पाकिस्तान तनावबारे अमेरिकाले भन्यो– हामी निगरानी गरिरहेका छौं
भारत र पाकिस्तानबीचको स्थितिबारे अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रतिक्रिया जनाएका छन् । भारतको आक्रमणप्रति प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘हामी यस स्थितिमाथि निगरानी गरिरहेका छौं ।’
रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘म भारत र पाकिस्तानबीचको अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको छु ।’ उनले अगाडि थपेका छन्, ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पको यो तनाव चाँडै अन्त्य होस् र भारत तथा पाकिस्तान दुवै मुलुकका नेतृत्वसँग वार्तामार्फत् शान्तिपूर्ण समाधान खोज्ने प्रयास जारी रहनेछ भन्ने टिप्पणीसँग सहमत छु ।’
बीबीसीका अनुसार पाकिस्तानले दिएको जानकारी अनुसार भारतीय हवाई हमलामा परी २ बालबालिकासहित ७ जनाको ज्यान गएको छ ।
भारतीय हमलाको प्रतिक्रिया दिंदै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भनेका छन्, ‘भारतको आक्रमणको निर्णायक जवाफ दिन पाकिस्तानसँग पूर्ण अधिकार छ ।’
भारत–पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको अपिल
भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् ।
उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् ।
दुजारिकले भने, ‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ।’
यसअघि, ५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गरेका थिए।
उनले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा पनि गरेका थिए।
भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश हुन् ।





