काठमाडौँ । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि अनुसन्धान गर्ने भएको छ ।
प्रसाईं अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनीमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको, प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोप छ । यसबीच प्रसाईंविरूद्ध सिआइबीमा अर्को निवेदन परेको हो ।
नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न भनेर सिआइबीलाई पत्राचार गरेको हो ।
सिआइबी प्रवक्ता एवं एसपी सुधिरराज शाहीका अनुसार प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी पनि जारी भएको छ । ‘प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ । अहिले परिसरको हिरासतमा हुँदा हामीले पनि ल्याएर अनुसन्धान गर्छौं,’ उनले भने ।
प्रसाईंले लिएका ऋणहरू दुरूपयोग गरेकाले कारबाही गर्न भनेर राष्ट्र बैंकले पत्राचार गरेको हो । उनले होटल, अस्पताल, व्यवसाय विभिन्न नाममा अर्बौंको ऋणलाई दुरूपयोग गरेको आरोप लागेको हो । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रसाईंलाई नवराज सुवेदी नेतृत्वको ’राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन’ समितले चैत १४ गते ’जनकमान्डर’ घोषणा गरेको थियो । भोलिपल्टै उनले तीनकुने क्षेत्रमा प्रदर्शन राखेका थिए । प्रदर्शन हिंसात्मक भएपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
तर उनी भारतको असम भागेका थिए । उनलाई विशेष ब्युरोको टोलीले चैत २९ गते नेपाल ल्याएको हो । प्रसाईं फरार रहँदा साइबर ब्युरोमा पनि जाहेरी परेको थियो ।





