अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ३, बुधबार १४:०१

काठमाडौँ । उपत्यका र मुख्य सहरमा प्रदर्शन हुँदा हुलदंगा नियन्त्रण गर्न प्रहरीले मिति सकिएको अश्रुग्याँस प्रहार गरेको तथ्य बाहिरिन्छ । भिडमा प्रहार गरिएको अश्रुग्याँसको खोका देखाउँदै प्रदर्शनकारीले भन्ने गरेका छन्, ‘हाम्रो स्वास्थ्यमाथि खेलबाड गर्न मिल्छ ?’

चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थकहरूको प्रदर्शनमा प्रहरीले म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको भनेर प्रश्न उठ्यो । राज्य व्यवस्था समितिमा सांसदहरूले प्रश्न गरेपछि आईजीपी दीपक थापाले प्रतिवाद गर्दै भने, ‘म्याद सकिएको अश्रुग्याँस नष्ट गर्ने गरेका छौँ । हामीसँग मौज्दात रहेको र म्याद भएकै अश्रुग्याँस तीनकुनेमा प्रयोग गरेका हौँ ।’

आईजीपीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०८१ चैत २६ मा बल्खुको सभाबाट प्रश्न गरे, ‘अश्रुग्याँसको बोक्रामा लेखिएको मिति हामीले हेरेका छैनौँ ?’

 

म्याद सकिएको अश्रुग्याँस प्रहार गर्ने गरेको भनेर आलोचना खेप्दै आएको प्रहरीले २०७८ पछि अश्रुग्याँस किन्न पाएको छैन । आर्थिक वर्ष २०७७/०७८ मा ४ हजार सेल अश्रुग्याँस खरिद गरिएको र त्यसपछि खरिद नगरिएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।

 

आर्थिक वर्ष २०७४/०७५ मा १० हजार सेल, २०७५/०७६ मा ६ हजार र त्यसपछिका दुई आर्थिक वर्षमा चार–चार हजार सेलको दरले अश्रुग्याँस खरिद गरिएको थियो । ती अधिकृत भन्छन्, ‘२०७८ भन्दापछि अश्रुग्याँस खरिद गरिएको छैन ।’

 

अश्रुग्याँस मात्रै होइन, दंगा नियन्त्रण गर्न अत्यावश्यक सामग्री खरिद गर्ने प्रहरीको प्रयास २०७२ पछि सफल भएको छैन । २०७२ मा ४ हजार ८ सय थान भिड नियन्त्रण गर्ने सामग्री खरिद गरिएको थियो । त्यसपछि प्रहरीले ‘राइट कन्ट्रोल गियर’ खरिद गर्न सकेको छैन ।

 

‘राइट कन्ट्रोल गियर’मा हेलमेट लगायत भिड नियन्त्रणमा आवश्यक सामग्री पर्छन् । २०७२ मा १६ हजार सेल अश्रुग्याँस खरिद गरिएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा दंगा नियन्त्रण गर्न आवश्यक ६ हजार थान शिल्डढाल खरिद गरिएको अधिकृतहरू बताउँछन् ।

 

दंगा नियन्त्रण र तालिममा पनि अश्रुग्याँस प्रयोग गरिन्छ । नेपाल प्रहरीको २६ सय युनिट छन् । अधिकांश युनिटमा अश्रुग्याँस आवश्यक हुने प्रहरी अधिकारी बताउँछन् । प्रहरीका एक जना उच्च अधिकृत भन्छन्, ‘सबै जिल्लामा अश्रुग्याँस र राइट कन्ट्रोल गियरको असाध्यै माग छ ।’

 

१२ करोडका सामग्री खरिद गर्न टेण्डर

 

२०८१ चैत १० मा बाँकेमा ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्युपछि तनाव उत्पन्न भयो । स्थानीयले ट्याङ्करमा आगजनी गरे ।

 

वीरगञ्जमा दुई समुदायबिच झडप भएसँगै चैत ३० मा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको थियो । स्थिति नियन्त्रणमा लिन १४५ सेल अश्रुग्याँस र दुई राउण्ड हवाई फायर गरिएको पर्साका प्रजिअ गणेश अर्यालले जानकारी दिए । चैत १५ मा दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शन पनि आकलन गरेभन्दा फरक भएपछि नियन्त्रणमा लिन बल गर्नुपरेको प्रहरी अधिकृतहरू बताउँछन् ।

 

आकलनभन्दा विपरीत प्रदर्शन हुने हुनाले दंगा नियन्त्रणमा आवश्यक सामग्रीको भण्डारण गर्नुपर्ने सुरक्षा अधिकारीहरू बताउँछन् । तर, खरिद प्रक्रिया पूरा गर्न आवश्यक प्रक्रिया र अर्थ मन्त्रालयले समयमा बजेट उपलब्ध नगराउँदा अत्यावश्यक सामग्रीसमेत समयमा खरिद नहुने गृह मन्त्रालयका एक जना अधिकृतले बताए ।

 

अहिले दिनहुँ प्रदर्शन भइरहेको छ । तर, सरकारले भर्खर प्रहरीलाई गैरघातक सामग्री खरिद गर्न अनुमति दिएको छ । यसै आर्थिक वर्षमा खरिद प्रक्रिया पूरा गर्नेगरी प्रहरी प्रधान कार्यालयले १२ करोड बराबरको सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ । अश्रुग्याँस प्रहार गर्न प्रयोग गरिने एयर गन, मल्टी ग्यास गन, बडी प्रोटेक्टर सेट र शिल्डढाल सहितका सामग्री खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरीका एक जना उच्च अधिकृतले जानकारी दिए ।

 

आन्दोलनमा ढुङ्गा छेक्ने शिल्डढाल अहिले करिब २ करोड बराबरको खरिद गर्न लागिएको छ । यसपटक करिब ४ हजार सेट सामग्री खरिद गर्न लागिएको छ । सो सामान भारत र चीनबाट खरिद गरिने अधिकृतहरू बताउँछन् ।

 

मर्मत गरेर वितरण

 

देशभर प्रदर्शनका घटना बढेपछि प्रहरी प्रधान कार्यालयले च्यातिएका दंगा नियन्त्रण सामग्रीलाई सिलाएर वितरण गरेको छ । पछिल्लो समय बडी प्रोटेक्टर मर्मत गरेर दिन थालिएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । उनले भने, ‘केही थान बडी प्रोटेक्टर मर्मत गरेर पठाएका छौँ ।’

 

हुलदंगा नियन्त्रणमा प्रयोग गरिने लाठी प्रहरीले भारतबाट खरिद गर्दै आएको छ । बेतको लाठी भारतबाट खरिद गरेर वितरण गर्ने गरिएको अधिकृत बताउँछन् । प्रहरीका एक जना अधिकृतले भने, ‘लाठी मर्मत गर्न मिल्दैन, समय समयमा खरिद गरिरहन्छौँ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार