काठमाडौँ । पूर्वराष्ट्रपतिलाई पनि विभूषण दिन मिल्ने गरी सरकारले विभूषण प्रदानसम्बन्धी मापदण्ड संशोधन गरेको छ । पूर्वराष्ट्रपतिसहित पूर्वअतिविशिष्ट पदाधिकारीलाई विभूषण दिन सरकारले मापदण्ड नै हेरफेर गरेको हो ।
पूर्वउपराष्ट्रपतिसम्मलाई मात्र विभूषण दिन मिल्ने यसअघिको मापदण्ड संशोधन गरेर विभूषण पाउनेको सूचीमा पूर्वराष्ट्रपतिलाई पनि समेटिएको हो । योसँगै पूर्वअतिविशिष्ट पदाधिकारीका रूपमा रहेका पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षमध्येबाट दुई जनालाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) प्रदान गर्ने मापदण्ड बनाइएको छ । विभूषण समितिबाट पूर्वअतिविशिष्टमध्येबाट दुई जनालाई विभूषण सिफारिस गर्ने प्रबन्ध राखिएको छ ।





