जनकपुरधाम । होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना लागू गरेको छ ।
पर्वको समयमा कुनै पनि अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले धनुषा प्रहरीले ५ सय प्रहरीको टोली तैनाथ गर्दै व्यापक सुरक्षा व्यवस्था मिलाएको छ । यो सुरक्षा योजना बिहीबारदेखि नै लागू गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार जनपथ, सशस्त्र, राष्ट्रिय अनुसन्धान र प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी टोलीको सहयोगमा यो सुरक्षा योजना बनाइएको हो । उनले भने, ‘हामी होलीको हर्षोल्लासलाई रोक्न चाहँदैनौं । तर, हामीले सम्भावित अप्रिय घटनालाई रोक्नका लागि यो सुरक्षा योजना बनाएका हौं ।’
सुरक्षा योजना अन्तर्गत धनुषा जिल्लाका प्रमुख स्थानहरूमा विशेष निगरानी राखिनेछ । पर्वको समयमा सर्वसाधारणको भीड हुने स्थानहरू, परिक्रमा स्थलहरू, नाका, पार्किङ एरियाहरू र होली सेलिब्रेशन हुने स्थलहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।
त्यस्तै धनषाका प्रमुख चोक र सडकमा ट्राफिक प्रहरीको कडा निगरानी गरिनेछ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कडा कारबाही गरिने बताइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीको नेतृत्वमा होली पर्वलाई सुरक्षित र सभ्य बनाउने उद्देश्यले विभिन्न सुरक्षा उपायहरू तयार पारिएका छन् ।
वलीले यस अवसरमा एक विशेष चेतावनी जारी गर्दै, ‘होलीको दिन कुनै पनि सवारी साधन नियम उल्लङ्घन गरेमा उनीहरूलाई कडा कारबाही गरिनेछ ।’ उनले थपे, ‘कारबाहीमा परेका सवारी साधनलाई भोलिपल्ट मात्र छोडिने छ ।’
धनुषा जिल्लामा होली पर्वको समयमा ६० जना ट्राफिक प्रहरी प्रमुख चोक र मार्गहरूमा कडा निगरानी गर्नेछन् । १७ स्थानमा चेकिङ्ग हुनेछ भने ५ स्थानमा मादक पदार्थ सेवन जाँच (मापसे) पनि गरिनेछ ।
प्रमुख चेकिङ्ग स्थानहरूमा जलेश्वर–जनकपुर सडक खण्ड, जटही–जनकपुर सडक खण्ड, कपिलेश्वर, पुलचोक, बेंगा शिवपुर, मुजेलिया, महेन्द्रनगर, पोर्ताहा र बीरेन्द्र बजार रहेका छन् ।





