बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष ३२७ आगलागीका घटनामा २१ करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।साउनदेखि वैशाख १२ अर्थात् बुधबारसम्म लुम्बिनी प्रदेशका १२ जिल्लाका विभिन्न स्थानमा भएको आगलागीमा ३०६ घर र २३२ गोठ जलेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।आगलागीमा १६२ घरका ७६७ जना मानिस विस्थापित भएको प्रदेश प्रहरी कार्यालय लुम्बिनीका सूचना अधिकारी एवं एसएसपी रमेश कुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए । आगलागीबाट ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । यस्तै ३३७ चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोल्पामा ६८ वटा आगलागीका घटना भएका छन् भने पूर्वी रुकुम जिल्लामा ३ वटा आगलागीका घटना भएको प्रहरी तथ्याङ्क छ ।
रोल्पामा जिल्लामा आगलागीबाट १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । यस्तै ४१ घर र ४८ गोठ जल्दा १८५ जना विस्थापित भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु जिल्लामा २२ वटा आगलागीका घटनामा ७७ घर र २७ गोठ जलेका छन् भने ३९३ जना विस्थापित भएका छन् ।गुल्मी जिल्लामा ४५ वटा आगलागीका घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गुल्मी जिल्लामा ४५ घर र ५६ गोठ जलेका छन् । दाङ जिल्लामा १९ वटा आगलागीका घटना हुँदा ७ घर र ११ वटा गोठ जलेका छन् । दाङमा आगलागीमा परी १ जनाको मृत्यु समेत भएको छ भने ५ परिवारका २७ जना विस्थापित रहेको प्रहरीको तथ्याङ्क छ ।
नवलपरासी जिल्लामा ९ बटा आगलागीका घटना हुँदा १८ घर र ४ गोठ जलेका छन् । जसमा एक जना पुरुष घाइते भएका छन् ।
प्युठान जिल्लामा ३६ वटा आगलागीमा घटना हुँदा २२ घर र १८ गोठ जलेका छन् ।





