काठमाडौँ । नेपालले कतारसँग वार्षिक १३ अर्ब १९ करोड रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोर्ने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष (२०७९/८०) मा नेपालले कतारसँग १३ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको हो ।तथ्याङ्कअनुसार कतारबाट नेपालमा गत आर्थिक वर्ष १३ अर्ब ३० करोड रुपैयाँको सामान आयात भएको थियो । जबकि, नेपालबाट ११ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । यस अनुसार १३ अर्ब १९ करोड ६२ लाख रुपैयाँको व्यापार घाटा नेपालले बेहोरेको हो ।कतारबाट नेपालमा मुख्यगरी सुन आयात हुने गरेको छ । गत आर्थिक वर्षभरिमा कतारबाट ११ अर्ब १६ करोड रुपैयाँको सुन र सुनबाट बनेका गहना आयात भएको थियो । यसपछि १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको युरिया मल आयात हुँदा ३५ करोड रुपैयाँभन्दा बढीको पोलिथिन आयात भएको छ ।५ करोड रुपैयाँको स्मार्टफोन र १ करोडभन्दा बढीको टेलिभिजन आयात भएको विभागको तथ्याङ्क छ । यता नेपालबाट भने कतारतर्फ न्यूनमात्रामा वस्तु निर्यात हुने गरेको छ । तथ्याङ्कअनुसार ३९ प्रकारका वस्तुमात्रै कतार निर्यात हुने गरेको छ ।गत आर्थिक वर्षभरिमा नेपालबाट कतारतर्फ २१ लाख रुपैयाँको स्पोर्टस फूटवेयर, अन्य प्रकारका गार्मेन्ट, ३ करोड ७६ लाख रुपैयाँको कार्पेट, ७० लाख रुपैयाँको च्यवनप्रास, १ करोड ३४ लाख रुपैयाँको पास्ता निर्यात भएको छ । यसपछि, नेपालबाट अदुवा, क्याप्सिकम र कुरिलो समेत निर्यात हुने गरेको तथ्याङ्क छ ।यस बाहेक चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा समेत नेपालले उल्लेख्यमात्रामा व्यापार घाटा बेहोरेको छ । तथ्याङ्कअनुसार यस अवधिमा नेपालले कतारसँगको व्यापारमा १ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।





