भौगोलिक सङ्केत (जिओग्राफिकल इन्डिकेशन–जीआई) का लागि सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट सरकारले चैत ३० मा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो । नेपालमा कुनै पनि उत्पादनलाई सङ्केतको पहिचानको रूपमा दर्ता गरिएको छैन । सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेपश्चात् नेपालका रैथाने सुन्तला ‘जातहरूमा भौगोलिक सङ्केत’ (अरिजिन टीआईएफ जीआई ) को ट्याग पाउन सहजीकरण हुने सरकारी निकायको दाबी छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सबनम सिवाकोटीले सुन्तलामा नेपालको भौगोलिक सङ्केत अधिकार स्थापित गर्ने प्रमुख उद्देश्यका साथ यसलाई राष्ट्रिय फलको मान्यता दिइएको बताइन् । भौगोलिक सङ्केत अधिकारलाई अन्तर्राष्ट्रिय व्यापारमा बौद्धिक सम्पत्तिको मान्यता दिइएको छ भने यसको संरक्षण पनि बौद्धिक सम्पत्तिका रूपमा गरिने उनको भनाइ छ । वरिष्ठ फलफूल वैज्ञानिक डा. उमेश आचार्यले सुन्तला हाल देशभर २९ हजार हेक्टरमा लगाइएको बताए । सुन्तलामा मात्रै करिब ७ लाख जनशक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारीमा आबद्ध छन् ।
देशका ८०७ वडामा सुन्तला खेती हुन्छ, मध्य पहाडको नगदे बाली हो, कसैले २० देखि २५ बोट सुन्तला भएमा २ देखि ३ लाख कमाउँछन्,’ आचार्यले भने, ‘नेपालमा व्यापक क्षेत्रफल ओगटेको बाली कमै छ । सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको जियोग्राफी इन्टीकेटर लिन मिलोस् भन्ने हो, आफ्नै नीति निर्मातालाई झक–झकाउनका लागि हो ।’
डा. आचार्यले जिआईको प्राप्त गर्न नीतिगतरुपमा पहल गर्नु पर्ने भएकाले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको चित्रण गरे । यस्तै, सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा पश्चात् अन्तर्राष्ट्रियस्तरमा सुन्तला नेपालको आनुवंशिक श्रोत हो भन्ने आधिकारिक प्रमाण हुने र सुन्तलालाई थप सम्मान दिइने सरकारी अधिकारीहरूको दाबी छ । अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय फल बनाएपछि देश तथा फल दुवैको महत्त्व बढ्ने र विश्वव्यापी पहिचान हुने डा. आचार्यले उल्लेख गरे । कृषि वैज्ञानिक राम बहादुर केसीले विश्वका अन्य देशहरूमा आफ्नो पहिचान झल्किने फलहरूलाई राष्ट्रिय फल घोषणा गर्ने प्रचलन भए बमोजिम नेपालको लागि सुन्तला मौलिक पहिचान बोकेको फल बताए ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष (आव) २०७८÷७९ मा नेपालमा २७ हजार ९८२ हेक्टरमा सुन्तला खेती गरिएको थियो । सो क्षेत्रफलबाट १ लाख ८५ हजार ३४६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गर्यो । मन्त्रालयअन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रले आँप, सुन्तला, केरा, लप्सी, नासपती र स्याउ गरी ६ ओटा फललाई राष्ट्रिय फलको मान्यता दिन सकिने गरी प्रस्ताव गरेको थियो ।





