मधेश प्रदेशमा आगामी वैशाख २० देखि २९ गतेसम्म शहीद कप अन्तरप्रदेश टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा शहीद कप क्रिकेट कमिटीको संयोजन तथा नेपाल क्रिकेट संघ (क्यान)को सहकार्यमा हुन लागेको सो प्रतियोगितामा सात वटा प्रदेशको क्रिकेट टिम र एउटा आयोजक टिम गरी आठवटा टिमको सहभागिता हुने खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साहले जानकारी दिइन् ।जनकपुरधमामा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै खेलकुद तथा समाजकल्याण मन्त्री साहले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । उनले आगामी दिनमा खेलकुदको विकासका लागि थप बजेट विनियोजन गरिने समेत बताइन् । प्रतियोगिताको विजेता टिमलाई २ लाख ११ हजार नगद र ट्रफी र उपविजेता टिमलाई १ लाख १ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने आयोजक खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँलले बताए ।
निजी स्तरबाट २०७५ सालदेखि सुरु भएको उक्त प्रतियोगिता कोरोना कालमा स्थगित गरिएको थियो । मधेश प्रदेश सरकारले यसको अपनत्व लिएपछि तेस्रो पटक प्रतियोगिता हुन लागेको शहीद कप क्रिकेट कमिटीका संयोजक रोशन सिंहले जानकारी दिए ।
प्रतियोगितामा ३७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने यसमध्ये ३० लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउने जनाएको छ भने बाँकी रुपैयाँ निजी स्तरबाट सहयोगस्वरुप आर्थिक संकलन गरिने उनले बताए ।





