
व्यक्तिगत/व्यापारिक स्वार्थ पूरा गर्न एकपछि अर्को पार्टीको साहारा लिई हिड्ने दुर्गा प्रसाईँलाई एमालेको नेता बनाउन अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला कमिटीदेखि केन्द्रीय पदाधिकारीको समेत कुरा लत्याएका थिए ।
८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार तीनकुनेमा युवा–विद्यार्थीले गरेको प्रदर्शन झलक मात्र भएको बताएका छन् । राष्ट्रिय युवा नेपालको पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले अब ठूलो आन्दोलन गर्ने बताए ।
‘प्रतिक्रियावादीहरुले चुनावमा भेट हुने भन्छन्, भने भटौं । सडकको मैदानमा भेट हुने भन्छन् भने ठिक छ, सडकमै भेटौं’, ओलीको चेतावनी थियो । गत बुधबारको केन्द्रीय कमिटी बैठकमा पनि ओलीले राजावादी–हिन्दूवादी शक्तिहरुविरुद्ध सशक्त आन्दोलनको तयारीमा पार्टी जानुपर्ने बताएका थिए । त्यही बैठकले दुर्गा प्रसाईँ समूहको प्रदर्शनलाई प्रतिवादन गर्न युवा–विद्यार्थीले बिहीबार तिनकुनेमा गरेको प्रदर्शनको अपनत्व लिने निर्णय गरेको छ ।राजतन्त्र फर्काउने भनेर काठमाडौंका सडकमा मान्छे उतारेका प्रसाईँले पनि ओली र एमालेविरुद्ध चर्को अभिव्यक्ति दिइरहेका छन् । कतिसम्म भने ओलीलाई ‘हत्या आरोपमा जेल बसेको व्यक्ति भन्नेदेखि विदेशमा लगानी गरेको’ जस्तो तथानाम आरोप सार्वजनिक रुपमै लगाइरहेका छन् । प्रसाईँका गतिविधिविरुद्ध सरकारभन्दा अगाडि बढेर निर्णय लिइरहेका ओलीले पनि सिंगो पार्टीपंक्ति सडकमा उतार्ने तयारी गरिरहेका छन् । आमसाधरणमा एमाले भर्सेस दुर्गा प्रसाईँको संघर्ष भन्ने बुझाइ निर्माण हुन पुगेको छ ।
जबकी नौ महिना अगाडिसम्म उनै दुर्गा प्रसाईँ, एमाले अध्यक्ष ओलीका प्रिय पात्र थिए । एउटा सामान्य व्यापारी दुर्गा प्रसाईँलाई राजनीतिक ‘हैसियत’ दिन ओलीले एमालेका केन्द्रीय पदाधिकारीदेखि झापा जिल्ला कमिटीका नेताहरुको आग्रह समेत लत्याएका थिए । ‘दुर्गा प्रसाईँलाई पार्टीको भूमिका दिन हुन्न भन्ने हाम्रो सुझाव सुनेको भए आज यस्तो स्थिति आउने थिएन’ एक पदाधिकारी भन्छन्, ‘तर केपी कमरेडले कसैको कुरा सुन्न भएन । आज त्यसको मूल्य चुकाउनु परिरहेको छ ।’ती पदाधिकारीको बुझाइमा, एमालेको केन्द्रीय सदस्य बनेपछि नै प्रसाईँले राजनीतिक स्पेश पाएका हुन् । ‘हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनु भन्दा अगाडि एउटा व्यापारी थिए, तर केन्द्रीय सदस्य भएपछि नेता दुर्गा प्रसाई भए । (पूर्वराजा) ज्ञानेन्द्र शाहले उसैलाई उपयोग गरेको देखियो’, उनी भन्छन् ।
नेताहरुसँगको उठबसबाट चिनिएका ब्यापारी दुर्गा प्रसाईँलाई राजनीतिक रंगमा भने १५–१९ असोज २०७८ मा ललितपुरको गोदावरीमा सम्पन्न एमालेको प्रथम विधान अधिवेशनमा देखिएको थियो । कार्ड भिरेर प्रतिनिधि बनेको देखेपछि झापाका एमाले नेताहरू सशंकित बनेका थिए । किनकि प्रसाईँले लेखेको ठेगाना झापाबाट उनी प्रतिनिधि थिएनन् ।





