
६ मंसिर, काठमाडौं । मन्त्री, मुख्यसचिव र सचिवहरुले आफू अनुकुलका सहसचिवहरु खोज्दा सरकारले गर्न लागेको सरुवा नै अनिश्चित बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५५ भन्दा बढी सहसचिवको सरुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्याएको एक महिना हुन लाग्दासमेत टुंगिन सकेको छैन ।
सरूवा सूचीबारे सामान्य प्रशासनमन्त्री र मुख्यसचिव डा. बैकुण्ठ अर्यालबीच एकै मत बन्न नसक्दा समस्या भएको सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन् । अर्यालले नै प्रस्तावित सूचीमा विभिन्न कारण देखाएर सरुवा रोकिदिएको उनीहरुको आरोप छ ।
गत १९ भदौमा सरकारले एकैपटक ५८ सहसचिवहरुको सरुवा गरेको थियो । त्यतिबेला केहीबाहेक अधिकांश सहसचिवको सरुवाको निर्णय मुख्यसचिव र सचिवहरुबीचको सहमतिमै भएको थियो ।
यसपटक भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी आफैंले एउटै कार्यालयमा लामो कार्यकाल बिताएका कर्मचारीहरुको सरुवा गर्ने रणनीति बनाएर सूची तयार गराएकी थिइन् ।यसपटक भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी आफैंले एउटै कार्यालयमा लामो कार्यकाल बिताएका कर्मचारीहरुको सरुवा गर्ने रणनीति बनाएर सूची तयार गराएकी थिइन् ।त्यसै अनुसार एकै पटक फेरि ५८ जना सहसचिवहरुको नाम टुंग्याएर अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी भएपनि मन्त्रिपरिषदबाट निर्णय नभएपछि सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु रुष्ट छन् । अधिकारीहरुका अनुसार एकै निकायमा २ वर्षभन्दा बढी समय बिताएका, प्रदेशमा लामोे समय काम गरिसकेका र प्रदेशमा खटाउनुपर्ने तय भएकाहरुको सरुवा प्रस्ताव गरिएको थियो ।





