मोरङबाट सोमबार मात्रै काठमाडौं आइपुगेका ७२ वर्षीय वुद्धिमान सुवेदी भन्छन्, ‘आन्दोलन किन गर्न लागेका हुन्, धेरै थाहा छैन । काठमाडौं गए लघुवित्तको ब्याज मिनाहा हुन्छ भन्थे, त्यही सुनेर आएँ ।’
६ मंसिर, काठमाडौं । ७२ वर्षका बुद्धिमान सुवेदी मोरङबाट सोमबार मात्रै काठमाडौं आइपुगेका छन् । लामो बस यात्रा गरेर उनी काठमाडौंं आइपुग्नुको कारण लघुवित्तको ऋणबाट छुटकारा पाइन्छ कि भन्ने झिनो आशा हो ।
बुद्धिमान लघुवित्तको मारमा परेका ऋणी हुन् । उनी बिहीबारदेखि काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा घोषणा गरिएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले गर्न लागेको आन्दोलनमा सहभागी हुन आएका हुन् ।‘आन्दोलन किन गर्न लागेका हुन् धेरै थाहा छैन’, उनले भने, ‘काठमाडौं गए लघुवित्तको ब्याज मिनाहा हुन्छ भन्थे, त्यही सुनेर आएँ ।’
क्यान्सरकी बिरामी श्रीमतीको उपचार गर्न २०७७ सालमा उनले एनआईसी एसिया, जीवन विकास र मिर्मिरे लघुवित्त बित्तीय संस्थाबाट गरी ९ लाख रुपैयाँ ऋण लिएका थिए । तीन वर्षमा त्यो बढेर १५ लाख पुगेको छ । ‘जति तिर्दा पनि सकिएन’, उनले भने, ‘ऋण तिर्न नसकेपछि लघुवित्तका मान्छे घरमै आएर धम्क्याउन थाले । घर खाइदिन्छु भन्न थाले ।’यही बेला कसैले उनलाई काठमाडौंमा मंसिर ७ गतेदेखि हुने आन्दोलनमा गए लघुवित्तको ब्याजबाट छुटकारा पाइन्छ भन्ने कुरा सुनायो ।





