
भारत र पाकिस्तानको अति शत्रुतापूर्ण व्यवहारका कारणले गर्दा समग्र सार्क क्षेत्र प्रताडित छ र नेपाल पनि यसको एक महत्वपूर्ण सदस्य भएको हुँदा त्यसबाट प्रभावित नहुने कुरै भएन ।
विश्व प्रसिद्ध भारतको बलिउड पनि अचम्मको छ, हिन्दुत्वमा अडिएको मानिने भारतीय राष्ट्रवादले पाकिस्तानको उग्र विरोध गर्छ र उसलाई सकेसम्म होच्याउने र त्योभन्दा बढी संस्थागत आतंकवादको पक्षपोषण गर्ने देशको रूपमा उभ्याउँछ । यही शृङ्खलाको पछिल्लो ब्लकबस्टर फिल्म थियो- सन्नी देवलको ‘गदर-२’ ।यो चलचित्रमा पाकिस्तानी सेना कुन हदसम्मको भारत विरोधी रहेको छ भन्ने देखाइएको छ र अन्त्यमा उसकै भूमिमा हिरोका बाउछोराले सखाप पार्छन् भन्ने एक्सन सहित देखाइन्छ । यो कथा र प्रस्तुतिलाई भारतीय दर्शकहरूले सन्नी देवल र यसका निर्देशक अनिल शर्माको अपेक्षा विपरीत ब्लकबस्टर बनाइदिए ।
तर एउटा अचम्म लाग्ने कुरा के छ भने भारतीय सिने उद्योगका अर्का सुपरस्टार सलमान खानले भने उनका धेरै फिल्ममार्फत भारत र पाकिस्तानलाई भावनात्मक रूपमा जोड्ने प्रयास गर्छन्, एक्सन होस् वा मारधाड । ती फिल्म पनि हिट मात्रै नभई ब्लकबस्टर पनि छन् ।
यही शृङ्खलामा पर्छ उनको पछिल्लो फिल्म ‘टाइगर-३’ । उनका यी फ्रेञ्चाइजी तीन वटै फिल्महरूले भारत र पाकिस्तानलाई जोड्ने प्रयास गरेका छन् । अत्यन्त भावनात्मक तरिकाले यी शत्रुवत् दुई देशलाई जोड्ने फिल्म थियो- ‘बजरंगी भाइजान’ ।दर्शकहरूलाई यो फिल्म यति मन पर्यो कि सन् २०१५ मा आएको यो फिल्मले संसारभरबाट ९.१ अर्ब रुपैयाँ कमायो, सुन्नमा आए अनुसार भारतसँग त्यति सुमधुर सम्बन्ध नभएको चीनमा समेत यो फिल्मले राम्रो व्यापार गर्यो ।
बजरंगी भाईजान’सँग बलिउड मसला फिल्मलाई चाहिने सबै तत्वहरू थिए- एक्सन, ड्रामा, संगीत र त्यसको कथा तथा उत्कृष्ट प्रस्तुति । यसको सन्देश पनि दुई देशलाई भावनात्मक रूपमा जोड्ने खालको । यो चलचित्रमा फिल्मलाई चाहिने सबै तत्वहरू हुनुका साथै धेरै कुराहरू अवास्तविक नलाग्ने ।
उनलाई एउटा हनुमान भक्तको रूपमा चित्रित गरिनुको साथै हनुमानसँग भएको बुद्धि, बल र भावना एकसाथ भएको देखाइएको छ र कुनै लप्पनछप्पन नभएका सोझो व्यक्ति पनि । एउटी बोल्न नसक्ने बच्चीलाई कसरी उनले ‘भारत विरोधी’ पाकिस्तानमा आफ्नो परिवारसँग मिलाउँछन् भन्ने कुरा बडो मार्मिक र सटिक ढंगले प्रस्तुत गरिएको छ । त्यसैले यो फिल्म ब्लकबस्टर भएको मान्न सकिन्छ ।
भारत पाकिस्तानलाई त्यस्तै भावनात्मक रूपमा जोड्ने उनको अर्को चलचित्र हो- ‘भारत’ । यो फिल्मले लामो अन्तरालको कहानी बोके तापनि यो सन् १९४७ को देश विभाजन हुने अवसरमा विछोड भएकी आफ्नी बहिनीसँगको मिलनको कथामा आधारित छ ।
उनका बाबु रेल्वेका मास्टर हुन्छन् र भीडभाड तथा दंगामा उनी मारिन्छन् तर उनले आफ्नो परिवारको रेखदेख कुनै हालतमा गर्नु भनी आफ्नो छोरा सलमानलाई जिम्मेवारी दिएका हुन्छन् । तर भीडभाडमा उनकी सानी बहिनी हराउँछिन्, पछि उमेर पुग्दै जाँदा उनी बेलायत पुग्छिन् र एउटा टेलिभिजन कार्यक्रम मार्फत भारत-पाकिस्तान विभाजनको बेला छुटेका परिवारलाई जोडाउने कार्यक्रम मार्फत उनकी बहिनी पनि भेटिन्छिन् । यो चलचित्रमा पनि सलमानले धेरै मारधाडका दृश्यहरू नराखीकनै अत्यन्तै न्याय गरेका छन् र दर्शकको मन जितेका छन् ।





