प्रादेशिक अधिकार लागू गर्न मधेशको एकमहिने अल्टिमेटम पाएका प्रधानमन्त्री प्रचण्डले यही बीचमा काठमाडौंमा दुई अलग समूह झेल्दैछन्, जसमध्ये एउटा समूहले संघीयताकै खारेजी जस्तो कट्टरपन्थी माग राखिरहेको छ ।
१ मंसिर, काठमाडौं । १७ वर्षअघि अर्थात् २०६३ मंसिरको पहिलो साता प्रचण्ड शान्तिसम्झौता गर्दै नेपाली राजनीतिको मूलधारमा आएका थिए । १७ वर्षपछिको यो मंसिर पहिलो सातामा उनी काठमाडौंका सडकमा उछालिन सक्ने सम्भावित अशान्तिको आकलन गर्दैछन् । सडकमा दुईथरी प्रदर्शनकारीहरुको सम्भावित तनावबारे प्रधानमन्त्री प्रचण्डको चासो र सक्रियता दुवै बढेको छ ।
आज शुक्रबार बिहान सेना, प्रहरी, अनुसन्धान विभागका प्रमुखहरुसँग उनले बालुवाटारमा गरेको बैठकको एकसूत्रीय एजेन्डा थियो– ७ मंसिरको सुरक्षा तयारी । प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल त्यहाँ सहभागी थिए
कुनै समय प्रचण्डकै छत्रछायाँमा आर्थिक महत्वाकांक्षाको चुली छोएका दुर्गा प्रसाई आज आफ्ना निजी वित्तीय घाटाबाट जन्मेको कुण्ठालाई बैंकदेखि व्यवस्थाविरुद्ध नै प्रयोग गर्ने हदसम्म जान खोजेका छन् । भर्खरै सरकारले बन्द गराएको टिकटकदेखि अरु सोसल मिडिया प्लाटफर्ममा उनलाई केन्द्र बनाएर नागरिकको एउटा तप्काले असन्तोष प्रकट गर्न खोजेको छ, ७ मंसिरमा ।ठिक त्यही मिति, समय, स्थान अर्थात् बिहान ११ बजे माइतीघरमण्डलमा एमाले समर्थित युवा संघ नेपाल सडकमा आउने तयारीमा छ । एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीले त्यसको समन्वय गरिरहेको छ । अध्यक्ष केपी ओलीविरुद्ध प्रसाईले गतिविधि लक्षित गर्न थालेको भन्दै एमाले जमेर प्रतिवाद गर्ने मूडमा छ। एमाले कार्यकर्ताले जमलमा केही साताअघि उनै प्रसाईलाई कालोमोसो दलेका प्रतिवाद र प्रतिशाेध कुन हदसम्म बढ्दै गएको छ भने दुवै पक्षले प्रचारप्रसार झन्–झन् आक्रामक बनाउँदै लगेका छन् । एमाले नेता महेश बस्नेतले भर्खरै फेसबुकमा राखेको पोस्टरले प्रदर्शन कोप्रति लक्षित छ भन्ने बारे धेरै संकेत गर्छ । युवासंघ र अनेरास्ववियुले संयुक्त आह्वान गरेको प्रदर्शनको घोषित उद्देश्य जेसुकै भए पनि अघोषित उद्देश्य उनै प्रसाईको समूहसँग भिड्नु हो ।
प्रधानमन्त्रीले सुरक्षा नेतृत्वलाई यसको सम्भावित परिणतिबारे सोधेका छन् । उनले आवश्यक सबै तयारी गर्न निर्देशन दिएका छन् । उच्च स्रोतका अनुसार त्यस दिन दुई पक्षलाई माइतीघरमा आमनेसामने हुन नदिन सुरक्षाफौजले आफ्नो रणनीति बनाउने छ । सम्भव नभएमा कर्फ्यु लगाउन सकिने बालुवाटार स्रोतले बताएको छ ।
‘दुर्गा प्रसाई भन्दा पनि उनका पछाडि को छ, उसको उद्देश्य के हो भन्ने मूल कुरा हो’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘अहिले नै तबाह नमच्चाउला, तर आवश्यक सतर्कता राख्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको भनाइ छ ।’झट्ट हेर्दा बैंक तथा वित्तीय संस्थाविरुद्ध केन्द्रित देखिए पनि प्रसाईले प्रदेश संरचना, धर्मनिरपेक्षताको खारेजी लगायत लोकप्रियतावादी मुद्दाहरु समाउन खोजेका छन्, जसलाई अति–दक्षिणपन्थी शक्ति तथा बाह्य तत्व समेतको आड रहेको सरकारी आकलन छ । ठिक यही बेलामा मधेश प्रदेश प्रचण्ड सरकारसँग एकमहिने अल्टिमेटममा छ ।उसो त मधेश काठमाडौंलाई अल्टिमेटम दिइरहन्छ । विगतमा आन्दोलनको मोर्चाबाट अल्टिमेटम दिने मधेशका नेताहरुले प्रदेश सरकारमै आइसक्दा पनि काठमाडौंलाई अल्टिमेटम दिन छाडेका छैनन् । यी मधेशी नेतामध्ये अधिकांश संघीयताको कठोर समर्थनमा, धर्मनिरपेक्षताको भने विरोधमा देखिन्छन् ।उसो त मधेश काठमाडौंलाई अल्टिमेटम दिइरहन्छ । विगतमा आन्दोलनको मोर्चाबाट अल्टिमेटम दिने मधेशका नेताहरुले प्रदेश सरकारमै आइसक्दा पनि काठमाडौंलाई अल्टिमेटम दिन छाडेका छैनन् । यी मधेशी नेतामध्ये अधिकांश संघीयताको कठोर समर्थनमा, धर्मनिरपेक्षताको भने विरोधमा देखिन्छन् ।





