
सर्लाही,साउन १५
सर्लाहीको सदरमुकाम मलंगवामा निजी लगानीमा खुलेको एक अस्पतालमा मुटु रोगको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि बिरामीहरुलाई भारतको महंगो अस्पतालमा जानुपर्ने अवस्थाबाट छुटकारा मिलेको छ।मलंगवा नगरपालिका वडा न-९ मा रहेको तिरुपती बालाजी पोलिक्लिनिकले मुटु रोगका बिरामीहरुलाई सस्तो ,सरल र सुलभ तरिकाले उपचार सेवा उपलब्ध गराउन बिरगंज स्थित नेशनल मेडिकल कलेज अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ डाक्टर जितेन्द्र कुमार मिश्रलाई बोलाएर सेवा दिन थालेपछि बिरामीको चाप बढ्न थालेको हो।
उपचार पछि निको भइसकेका बिरामीहरु कम खर्चमा आफ्नै गाउँ ठाउँमा शल्यक्रिया गराउन पाएको र उपचार प्रक्रियाबाट सन्तुष्ट रहेको बताएका छन् ।
डा.मिश्रले मुटुमा जटिल समस्या देखिएका बिरामीका लागि गरिनुपर्ने सबैखाले जाँच तथा शल्यक्रिया गर्ने गरेकाले उक्त अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या बढ्दै गएको बताए ।
कार्डियोलोजिष्ट डा.मिश्रका अनुसार मुटु रोगलाई जटिल समस्या मानिएका कारण यसको उपचार खर्चिलो छ । खर्चिलो भएकाले आम नागरिकको पहुँचमा नहुँदा हृदयाघातले मर्ने मानिसहरुको सङ्ख्या बर्सेनी बढ्दै गएको छ ।
तिरुपती बालाजीले मलंगवामै न्यून खर्चमा उपचार सेवा दिन थालेपछि भारत जाने नेपाली बिरामीको सङ्ख्या केही हदसम्म घट्दै गएको छ ।भारतका बिरामीसमेत आएर मुटुको जाँच तथा शल्यक्रिया गराउन थालेको डा. मिश्रले बताएका छन् ।
तिरुपती बालाजी पोलिक्लिनिकमा आएका बिरामीहरुको इको लगायतका जाँचहरु गरिसकेपछि शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बिरगंज स्थित नेशनल मेडिकलमा लगेर शल्यक्रिया गर्ने गरेको र औषधि मात्र चलाउनुपर्ने बिरामीलाई यहीँबाट औषधि दिएर पठाउने गरेको डा.मिश्रले बताएका छन्।





