मनोज यादव—
सर्लाही,साउन ६
बार्हैमास पानीको कमि नरहने र पानीको लागि उपयुक्त मानिएको तराई मधेशमा अहिले पानीको अभाव देखिन थालेको छ । सर्लाहीसहित पुरै मधेसका गाउँ तथा शहरमा चपाकल(हैण्ड पाइप)हरु सुकेर पानीको हाहाकार भएको हो ।
लगातारको गर्मीका कारण अहिले सर्लाही जिल्लाका झण्डै ८५ देखि ९० प्रतिशत चापाकलमा पानी आउन छाडेको छ। घरघरमा चापाकलहरु सुकेर पानी आउन छाडेपछि मानिसहरु अरुको घरबाट पानी ल्याउन बाध्य छन्।छिमेकीको कल पनि सुकेका ले एक बाल्टीन पानीको लागि पनि टाढा जानुपर्ने बाध्यता आएको स्थानीय महिला गृहणीहरु बताउँछन्।
बढ्दो गर्मीसँगै हरेक घरमा खानेपानीका लागि जडान गरिएको चापाकलहरु सुकेपछि कहाँबाट पानी ल्याउने भनेर स्थानीयहरु चिन्तित बनेका छन्। पानीको अभावमा गाउँघरका बासिन्दाहरु जसोतसो खाना पकाउने र पिउनेसम्म गरेका छन् भने नुहाउने र लुगाधुने जस्ता कार्य हप्तामा दुई-तीन पटक मात्रै गर्ने गरेका छन् ।
सर्लाही जिल्लाको पुर्वि क्षेत्र पर्सा गाउँपालिका देखि पश्चिम बागमती नदी किनारको बलरा नगरपालिका सम्मका क्षेत्रमा पर्ने नदी नाला, इनार र चापाकलहरु सुकि रहेको अवस्था छ ।यतिबेला तराई मधेसमा धानको रोपाइँ चलिरहेको छ। रोपाइको लागि आकाशे पानीको पर्खाइमा बसेका किसानहरु नदी,नहर,पोखरी र तलाउमा समेत पानी सुकिसकेकोले जसोतसो पम्पिसेटबाट पानी निकालेर खेत रोपाइँ गरिरहेका छन् ।पम्पीसेटबाट पानी निकालेर रोपाइँ गर्दा खर्च बढेर लगानी समेत नउठ्ने किसानहरु बताउँछन् ।असाढको अन्तिमसम्म रोपाइँ सम्पन्न भइसक्नु पर्नेमा साउन महिना लागिसक्दा पनि सर्लाहीमा केही हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ।
चरम गर्मी तथा खडेरीका कारण पानीको मुहानहरु सुक्न थालेपछि खानेपानीको समस्याबाट स्थानीयबासीहरुलाई तत्कालै निकाल्न सर्लाहीको पर्सा गाउँपालिकाले प्रकोप व्यवस्थापन कोषबाट आफ्नो प्रत्येक वडामा डिप बोर गरि हैण्ड पाइप तथा मोटरयुक्त समरसिवल जडान गर्न सुरु गरिसकेको छ।सो सँगै पुराना इनारहरुको मर्मत तथा सरसफाइ लगायत विभिन्न राहतका कार्यहरुहरु पनि गर्न सुरु गरेका छन् ।
वन जंगल विनाशका कारण पर्यावरणमा परेको असरले गर्दा पानीको स्रोत सुक्न थालेकाले यस्तो समस्या उत्पन्न भएको जानकारहरुको भनाइ छ ।






