[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
५ वटा विधेयक सहित दर्जनौं सार्वजनिक महत्वका प्रस्तावहरु स्वीकृत
मनोज यादव
सर्लाही,असाढ २९
सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकाको १० औं नगरसभा सम्पन्न भएको छ।नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले ५ वटा विद्येयकसहित सार्वजनिक महत्वका दर्जनौं प्रस्तावहरु स्वीकृत गरेको छ ।
नगरसभाको बिहिवार बसेको तेस्रो तथा अन्तिम बैठकमा नगरप्रमुख यादवले गएको असाढ १० र २० गतेको बैठकमा प्रस्तुत गरेको प्रस्तावलाई नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले संचालन गरेको सभामा उप–प्रमुख शकुन्तला देवी साहले आर्थिक वर्ष २०८०/०८१ को बजेटसमेत प्रस्तुत गरेकी थिइन्।साहले चालुतर्फ ४० करोड ८२ लाख ७१ हजार र पुँजीगत अर्थात विकास खर्च तर्फको विनियोजित बजेट १४ करोड ६५ लाख ९० हजार गरि जम्मा ५५ करोड ४८ लाख ६१ हजारको बजेट प्रस्तुत गरेकी छिन् । प्रस्तुत बजेटमाथि यसअघि दुई चरणमा भएको छलफलमा १२ वटै वडाका वडाअध्यक्षहरुले भाग लिएका थिए।
दशौं वर्षे अधिवेशनबाट नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्भे, राजश्व सुधार कार्य योजना, आवधिक योजना, लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति, स्वास्थ्य ऐन २०८०, सरसफाइ ऐन २०८०, नगर रक्षा तथा विपद व्यवस्थापन ऐन २०८०, आर्थिक ऐन २०८० र विनियोजन ऐन २०८० सहित आगामी आ.व को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवं समसामयिक २२ बुँदे नीतिगत विषयहरू समेत पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए ।
मलंगवा स्थित महेन्द्र होटलको सभा हलमा सम्पन्न भएक सभामा १२ वटै वडाका वडाअध्यक्ष ,वडा सदस्य ,कार्यपालिका सदस्य,पत्रकार र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।





